आउँदैछ उपहार



उपहार खाल–खालका हुन्छन् । कसैले कसैलाई उपहार दिन चाहन्छ भने उपहार दिनेको छनोटमा भर पर्छ । दिने व्यक्ति सकभर उपहार लिनको मन जित्न चाहन्छ । मंगलबार काठमाडौंबासीले महानगरपालिकालाई केही फरक उपहार दिएको देखियो ।

काठमाडौंबासीले महानगर पदाधिकारीलाई ‘घाँस’ उपहार दिएका छन् । महानगरले टन्नै गाई, भैसी, बाख्रा वा अन्य चौपाया पालेर घाँस पु¥याउन स्थानीय पुगेका भने होइनन् रे । ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरी झाडीमय भएको विरोधमा घाँस बुझाइएको भन्ने बुझियो ।

घाँस बुझ्ने प्रमुख रैछिन्, महानगरकी उपमेयर खड्गी । मेयर शाक्य प्रधानमन्त्रीसँगै चीन भ्रमणमा पुगेपछि खड्गीको टेवलमै घाँस पुगेछ । कार्यालय परिसरमै घाँस उपहार पुगेसी अन्य पदाधिकारीको मनमा ठूलै ढ्याङग्रो ठोकिएको छ रे, कुन दिन आफूले पनि यस्तो उपहार थाप्नुपर्ने भनेर । उपहार बुझाउन जाने मध्येका केहीलाई धरहराले अन्य पनि उपहारका प्याकेज केही छन् कि भनेर सोध्यो ।

अगुवाझैं देखिने एकले भने–‘यो त कास्टीङ मात्रै हो, फिल्म केही दिनमा शुरु हुन्छ ।’ उनका अनुसार २÷४ हप्तापछि नगरको फोहोर, सडकको हिलो, धुलो र अन्य धेरै थरी प्याकेज विशेष उपहारका रुपमा प्रतिनिधीका टेवुल टेवुलमा पु¥याउने रे । यस्तो कुरा सुन्दा धरहरालाई लाग्यो अन्य नगरका प्रतिनिधीले पनि यस्ता उपहार सजाउने कक्ष तयार गरे हुन्छ ।

प्रतिक्रिया दिनुहोस्