कवि बसन्त चौधरीको नयाँ काव्य कृति सार्वजनिक



काठमाडौ (नेस)। ख्यातिप्राप्त कवि एवं लेखक बसन्त चौधरीको पछिल्लो कविता संग्रह ‘चाहतो के साये मे’ नयाँ दिल्लीमा विमोचन गरिएको छ । बलिउडका बरिष्ठ गीतकार समीर ‘अन्जान’ ले उक्त कविता संग्रहको विमोचन गर्नुभएको थियो ।

गीतकार समीर बलिउडका त्यस्ता गीतकार हुन् जसको नाम संसारकै सबैभन्दा धेरै संख्यामा गीत लेखेवापत सन् २०१६ को गिनिज वल्र्ड रेकर्डमा उल्लेख गरिएको छ ।

नयाँ दिल्लीस्थित होटल हयात रिजेन्सीको सभाहलमा उपस्थित भारतीय साहित्यका मुर्धन्य साहित्यकारहरूले कवि चौधरीको नयाँ पुस्तकको खुलेर प्रशंसा गरेका थिए ।

पछिल्लो एक वर्षको दौरानमा सार्वजनिक भएको चौधरीको यो दोस्रो पुस्तक हो । ‘चाहतो के साये मे’ लाई ख्यातिप्राप्त ‘बेनेट कोलम्यान एन्ड कम्पनी लिमिटेड’ अन्तर्गतको ‘टाइम्स ग्रुप बुक्स’ले प्रकाशन गरेको हो । २४२ पृष्ठको पुस्तकमा चौधरीले हिन्दी र उर्दु मिश्रित मिठासपूर्ण सरल भाषामा लेखिएको उक्त संग्रहमा उहांले कविता, गीत, गजल तथा नज्माहरूलाई समेट्नुभएको छ ।

उक्त पुस्तकको साथमा चौधरीद्वारा लिखित विभिन्न सातवटा गीत समेटिएको सिडी पनि सार्वजनिक गरिएको थियो । ती गीतहरूमा बलिउडका चर्चित गायक÷गायिका सोनु निगम, श्रेया घोषाल, रुपकुमार राठोर र मोहित चौहानको स्वर रहेको छ । कार्यक्रमका दौरानमा केही गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमका मुख्य अतिथि गीतकार समीरले कवि चौधरीको पुस्तक सरल र श्रोतामुखी रहेको बताउनुभयो । उहांले मनलाई छुने काब्य कृति रचना गरेको भन्दै चौधरीको खुलेर प्रशंसा गर्नुभएको थियो ।

पुस्तक विमोचन कार्यक्रममा भारतको उत्तराखण्ड राज्यका पूर्व मुख्यमन्त्री रामेश पोखरियाल ‘निशक’ विशिष्ट अतिथीको रुपमा उपस्थित हुनुभएको थियो । स्वयं कवि समेत रहेका निशकले नेपाल र उत्तराखण्डबीच सीमा जोडिएको विशेष निकटता रहेको चर्चा गर्दै दुबै ठाउँमा रहेका साझा संस्कृति र पहाडी भुभागबारे उल्लेख गर्नुभयो । कवि चौधरीको पुस्तक नेपाल–भारत सम्बन्ध बलियो बनाउने दिशामा एक महत्वपूर्ण कदम भएको उनको कथन थियो ।

भारतका बरिष्ठ कवि, साहित्य समीक्षक एवं समालोचक बालस्वरुप राही तथा दिल्ली विश्वविद्यालय अन्तर्गतको हंसराज कलेजका प्राचार्य डा.रमाले ‘चाहतो के साये मे’ माथि टिप्पणी गर्नु भएको थियो ।

पुस्तकका लेखक चौधरीले ‘चाहत’ (इच्छा) शब्दको विभिन्न आयामबारे प्रकाश पार्दै भन्नुभयो– “धेरै जसो मेरा काव्य कृतिलाई प्रेम र इच्छाले डो¥याउँदै आए पनि इच्छा वा चाहत स्त्री र पुरुषबीचको प्रेममा मात्र सीमित नभएर त्यो भन्दापनि पर रहेको छ । यसले समानरुपमा कुनै पनि व्यक्तिको नयाँ उचाईमा पुग्ने र नयाँ लक्ष्य प्राप्त गर्ने आकांक्षालाई समेत व्यक्त गर्दछ । यसर्थ इच्छा भनेको मानिसको समग्र जीवन प्रगतिको मुख्य उत्प्रेरक तत्व हो ।”

कवि चौधरी तथा कार्यक्रमका वक्ताहरूले कविताहरुको भाव दुरुस्त प्रतिविम्वित हुनेगरी सफलतापूर्वक ‘चाहतो के साये मे’लाई अंग्रेजीमा अनुवाद गरेको भन्दै जार्काताका सुन्जोय शेखरको खुलेर प्रशंसा गरे । ‘चाहतो के साये मे’ लाई आउदो असार ११ गते भारतको मुम्बईमा समेत विमोचन गरिने टाइम्स ग्रुप बुक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्