मदिरा सेवन गरि सरकारी निकायमा आउनेले सेवा नपाउने



हिक्मत नेपाली, दैलेख
कहि कतै तपाई मदिरा पिउदै हुनुहुन्छ, या मदिरा किन्ने सोचमा हुनुहुन्छ ? यहि त्यसो हो भने अब तपाईंले मदिरा खरिद गर्न र प्रयोग गर्न तीनपुस्ते नाम थर र वतन लेख्नुपर्नेछ । जिल्ला प्रशासन कार्यालय दैलेखले दैले११ वटै स्थानीय तह र उद्योग बाणिज्य संघसंग सहकार्य गरेर यस्तो कार्ययोजना अघि सारेको हो ।

जिल्ला प्रशासन कार्यालय दैलेखले उक्त योजना निर्माण गरि गृह मन्त्रालयमा पठाइसकेको छ । मदिरा सेवनका कारण समाजमा हुने विकृती र विसंगतीहरु घरेलु हिंसा, अपराधिक गतिविधि नियन्त्रण गर्न यस्तो कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए । कार्ययोजनामा भनिएको छ “यदि व्यापारी हो भने हरेक पसलका बोर्डहरू मदिरासहित वा मदिरारहित भनि उल्लेख गर्नुपर्ने छ ।
मदिरा बिक्री गर्ने पसलहरूमा पनि तीन प्रकारका रंगमा बोर्ड निर्माण गरिने छ ।

विदेशी ब्राण्डको मदिरा भए एउटा, स्वदेशी र विदेशी भए एउटा स्वदेशी मात्र भए एउटा कलरको पसलको बोर्ड बनाउने, सरकारी निकायमा मदिरा सेवन गरेर आएका व्यक्तिहरूले सेवा नपाउने, कुनै सरकारी कर्मचारी मदिरा सेवन गरेर कार्यालयमा पुगे तत्काल कारवाही गर्ने जस्ता कुराहरू कार्ययोजनामा उल्लेख गरिएको छ । यसका लागि दैलेखका ११ वटै तहका निर्वाचित जनप्रतिनिधिहरूसँग समन्वय गरिएको प्रजिअ न्यौपानेले बताए ।

उद्योग वाणिज्य संघले पनि यसलाई सकारात्मक रूपमा लिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले पठाएको कार्यजोनालाई कार्यान्वयनमा ल्याउन चामुण्डाबिन्द्रासैनी नगरपालिकाले कार्यपालिका बैठकबाट पास गरेर सूचना जारी गरिसकेको नगर प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए । “हामीले अवैध मदिरा नष्ट गर्ने, वैध मदिरालाई व्यवस्थित गर्नका लागि काम सुरु गरिसकेका छौँ, शाहीले भने ।
यस्तै आठवीस नगरपालिकाले पनि मदिरा नियन्त्रणलाई कडाइका साथ अगाडि सार्ने योजना बनाएको नगरप्रमुख खड्कराज उपाध्यायले बताएका छन् ।

मन्दिर र विद्यालय क्षेत्रभन्दा १ सय मिटर टाढा राख्ने, बिरामी, बृद्ध र बालबालिकाहरूले मदिरा खरिद गर्न नपाउने, मदिरा बिक्रीका लागि छुट्टै जोन बनाउने कुरामा नगर सभाले छलफल गरेर अगाडि बढेको उपाध्यायले बताए । जिल्लामा अवैध मदिरा नियन्त्रण गर्न नसके धेरै कुरा बिग्रने अवस्था देखिएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले बताए । नगर सभावाटै कानुन पास गरेर व्यवस्थापनको लागि पहल गर्ने योजनामा छौ, नगरप्रमुख खड्काले भने ।

नारायण नगरपालिकासँग सहकार्य गरेर दैलेख सदरमुकाम र आसपासको मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्नेबारे छलफल भएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले बताए । “जिल्ला प्रशासन कार्यालय दैलेखले कार्ययोजना पठाएको छ, सदरमुकामको पुरानो बजार, देवकोटा चौक र गणेशचौकमा पायक पर्ने स्थानमा बिक्री केन्द्र राख्ने, साइनवोर्ड कलर अनुसार राख्ने बारेमा छलफल भएको छ तर ठोस निश्कर्ष आएको छैन’, उनले भने ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र स्थानीय सरकार मिलेर दैलेखमा बढ्दै गएको लागुऔषध समाधानका लागि पनि पहल थाल्नुपर्ने स्थानीयले सुझाव दिएका छन् । विद्यालय उमेरका कतिपय युवाहरू चुरोट, गाँजा, रक्सी सेवन गर्दै लागुऔषध प्रयोगकर्ता भैसकेको जानकारी जिल्ला प्रहरी कार्यालयलाई हुँदा पनि यसवारे रोकथाम गर्न नसकेको प्रति नगरिक समाज र जनप्रतिनिधिहरूले समेत चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्