विकासले निम्त्याएको विनास



नेपाल समाचारपत्र, पर्वत
लगातारको वर्षासँगै गएको पहिरोका कारण यहाँको एक विकट गाउँका आठ घर विस्थापित भएका छन् ।
पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीस्थित कुसुनडाँडाका आठ घर दीर्घकालीनरुपमै विस्थापित हुने भएका हुन् । गत शनिबार राति परेको वर्षासँगै गएको पहिरोमा परी तीन घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बाँकी पाँच घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए ।

हिउँदमा खनिएको मोटरबाटोका कारण पहिरो जाँदा बस्ती नै जोखिममा परेको हो । पहिरोले स्थानीय शिक्षक छवि अधिकारीको गोठ र मोटरसाइकलमा पूर्ण क्षति भएको थियो । पहिरोको जोखिममा रहेका छवि अधिकारीसँगै विष्णु अधिकारी र मेघनाथ अधिकारीलाई तत्काल अस्थायी टहरा बनाउनका लागि जस्तापाता र नगद सहयोग गरिएको छ । अन्य पाँच घर पनि दिउँसोमा सोही घरमा बस्ने र वर्षा भएपछि अन्यत्रै आफन्तकोमा आश्रय लिएर बस्ने गरेका छन् ।

पहिरोको जोखिममा रहेका आठ घरनै दीर्घकालीन बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले गाउँपालिकाले तत्काल उपयुक्त जग्गा व्यवस्थापन गर्न थालेको उच्चैले जानकारी दिए । तत्काल तीन घरका लागि गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न सहयोग गरिसकेको र बाँकी परिवारका लागि केही दिनमै जग्गा व्यवस्थापन गरिने समेत उनको भनाइ छ । भिरालो जग्गामा रहेको बस्ती वर्षेनी पहिरोको जोखिममा पर्दै आएको थियो । पहिरोका कारण उक्त स्थानमा रु एक करोडभन्दा बढीको क्षति पुगेको अनुमानसमेत गरिएको छ ।

बस्ती नै जोखिममा परेर स्थानान्तरण हुनुपरेपछि ठूलो समस्या परेको पीडित छवि अधिकारीले गुनासो गरे । सयौँ वर्षदेखि बसोबास गर्दै आएको ठाउँ छोड्नुपर्दा निकै निरासा छाएको उनले बताए ।

जीवनभरको कमाइ खर्चिएर बनाएको घर छाडेर नयाँ ठाउँमा पुनः धेरै खर्चिएर घर बनाउन आर्थिक बोझ थपिएको उहाँको गुनासो छ । त्यस्तै, अर्का पीडित मेघनाथ अधिकारीले पनि गाउँपालिकाले तत्कालका लागि अस्थायी टहरा बनाउन सहयोग गरेपछि दीर्घकालीन बास बनाउनका लागि आर्थिक अभाव भएको गुनासो गरे। उनले गाउँपालिकालाई आवश्यक रकमको व्यवस्थापन गरिदिन आग्रह गरे।

गएको शनिबार आएको वर्षाका कारण महाशिलामा सबैभन्दा बढी क्षति पुगेको थियो । वर्षाका कारण गाउँपालिकाका सबैजसो सडक अवरुद्ध भएको पनि प्रवक्तासमेत रहनुभएका जीवनविक्रम उच्चैले जानकारी दिए। उनले सबै सडक खुलाउनका लागि डोजर र एस्काभेटर परिचालन गरिएको र आजदेखि सबै सडक सुचारु गरिने समेत जानकारी दिए । सडक अवरुद्ध हुँदा गाउँपालिकादेखि सदरमुकाम कुश्माबजार आउने र प्रदेश राजधानी पोखरा जाने सडकसमेत अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्