ट्राफिक व्यवस्थापन जरुरी



राजधानी रहेको काठमाडौं उपत्यका यति बेला अस्तव्यस्त देखिन थालेको छ । बिहान–बेलुकाको समयमा निकै जाम रहने बजार दिउँसोको समयमा जामसँगै सवारी चापका कारण अस्तव्यस्त अवस्थामा देखिने गरेको छ ।

सवारी चालकहरुको लापरबाही, ट्राफिक नियमको चरम उल्लंघनले उपत्यकालाई कुरुप मात्रै बनाउने गरेको छैन, पैदल यात्रा गर्नेलाई निकै कठिन हुने गरेको छ । बजारमा जथाभावी राखिएका सवारीसाधनका कारण एकातर्फ बाटोमा जाम हुने गरेको छ भने बिहान कार्यालय समय र बेलुका कार्यालय छुट्ने समयमा उपत्यकाको चक्रपथलगायतका भित्रको सडकमा पनि निकै ठूलो जाम हुने गरेको छ ।

बजार क्षेत्रमा जथाभावी ठूला ट्रक तथा मालवाहक साधनहरु प्रवेश गर्ने र सामान उठाउने तथा झार्ने गर्दा पनि सवारी जामको समस्या हुने गरेको छ । एकातर्फ बजारमा बढ्दै गैरहेको मानिसको चाप, मानिससँगै बढिरहेको सवारीको चापले बजार यसै पनि अपर्याप्त भैरहेका बेला बजारको ट्राफिक व्यवस्थापनमा ध्यान नदिइँदा बजारलाई बाटो बनाउँदा सर्वसधारणलाई सास्ती भैरहेको छ । चोक–चोकमा रोकेर राखिएका साना तथा ठूला सवारीसाधनलाई पार्किङ गर्न मिल्ने स्थानमा मात्रै पार्किङ गर्न दिने, चोक एवम् घरका पेटी र सडकछेउछाउमा राखिएका सावरीसाधनलाई नियमानुसारको कार्वाही गर्ने र व्यावसायिक प्रयोजनमा प्रयोग हुने यातायातलाई समय तालिका बनाएर मात्रै बजार प्रवेश दिने व्यवस्थालाई कडाइका साथ लागू गर्नु अहिलेको आवश्यकता हो ।

उपत्यकामामा बढेको ट्राफिक जामका कारण एकातर्फ बजार कुरुप छ, सर्वसाधारणलाई ओहोरदोहोर गर्ने बाटो छैन । आपतकालीन अवस्थामा प्रयोग हुने एम्बुलेन्स, अग्नि नियन्त्रक, प्रहरीलगायतका साधानहरु सहज आवतजावत गर्न सक्ने वातावरण छैन भने अर्कोतर्फ दुर्घटनाको भय आजभन्दा भोलि दोब्बर बन्दै गैरहेको छ । त्यसैले महानगरपालिकाको पहलमा उपत्यकामा सवारीसाधनको पार्किङको लागि उचित व्यवस्था मिलाउने काम छिटोभन्दा छिटो थालिनु आवश्यक छ ।
– मनोज श्रेष्ठ, काठमाडौं

प्रतिक्रिया दिनुहोस्