सरकारको कामभन्दा गफ धेरै



दुई तिहाइ बहुमतसहितको सरकार गठन भएपछि नागरिकहरुले सरकारको सोच र शैलीमा परिवर्तन आउने आशा र अपेक्षा गरेका थिए । निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धताअनुसार नै नेपाल कम्युनिस्ट पार्टीलाई बहुमत दिएर जनताले आफ्नो अभिभारा पूरा गरे ।

जनताले सधैँको राजनीतिक अस्थिरता, ६–६ महिनामा सरकार परिवर्तन भइरहने गलत परम्पराको अन्त्य गर्नको लागि तत्कालीन वाम गठबन्धनलाई बहुमत पनि दिए । अहिले दुई तिहाइ बहुमतको सरकार गठन भएको छ । तर जनताका समस्या ज्युँका त्युँ छन् । सरकारका मन्त्रीहरुको सोच र शैलीमा परिवर्तन आउन सकेको छैन । नागरिकहरुले सरकारसँग आमूल परिवर्तनको अपेक्षा राखेका छन् ।

विगतको निरन्तरता होइन, नयाँ सोच र नयाँ शैलीका साथ काम गरेको हेर्न चाहेका छन् । तर सरकारले नातावाद, कृपावादको परम्परालाई निरन्तरता दिँदै आएको छ ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अगाडि सारेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा समृद्ध नेपालको नारालाई प्राथमिकताका साथ राखिएको छ । सरकारले देशलाई समृद्ध बनाउने नारा अगाडि सार्नु राम्रो पक्ष हो । समृद्ध देश निर्माण भएको हेर्ने चाहना कुन नेपालीलाई नहोला र ? सरकार गठन भएको चार महिना बितिसकेको छ । सरकार जनताको दैनिक समस्याको समाधान गर्नसमेत असफल भएको छ ।

सरकारले समृद्धिको गफ र भाषण दिने कामलाई नै प्राथमिकतामा राखेको छ । महँगी नियन्त्रण हुन सकेको छैन । जनदबाबपछि मात्र पेट्रोलियम पदार्थको मूल्य ३ रुपियाँ घटाउन बाध्य भएको छ । जनताको पक्षमा काम गर्ने सरकारले जनतालाई नै सास्ती हुने निर्णय किन गरिरहेको छ ?

समृद्धि सरकारकाले एकोहोरो रटान लगाएर मात्र प्राप्त हुने होइन । यसको लागि स्पष्ट लक्ष्य र योजना चाहिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको सपना दिनहुँ बाँडिरहेका छन् । हो, समृद्धि चाहिएको छ । तर भाषणमा मात्र आउने समृद्धिले के साँच्चिकै देशको परिवर्तन सम्भव छ त ? शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको कालोबजारी, बिचौलियाको अन्त्य गर्ने सरकारले ठोस नीति र कार्यक्रम नै अगाडि सार्न सकेको छैन । काम गर्ने इच्छाशक्ति भएको भए चार महिनाको अवधिमा उपत्यकामा देखिएको धूलो र हिलोको व्यवस्थापन हुने थियो । नारा लगाउँदैमा र भाषण ठोक्दैमा समृद्धि आउँदैन । समृद्ध देश बनाउनको लागि भाषण होइन, काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्