कांग्रेस जिल्ला सभापतिको हेटौंडा भेला शुरु ‘लोकतन्त्रबादी कम्युनिष्ट र साकाहारी बाघ उस्तै’



रोशन पराजुली, हेटौंडा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाल मुलुक थप संकटमा परेको भन्दै कम्युनिष्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन नसक्ने दाबी गर्नुभएको छ । उहाँले कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जस्तै भएको टिप्पणी गर्दै वर्तमान सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएकोले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गर्नुभएको छ ।

हेटौंडामा मंगलबार शुरु पार्टी जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला उद्घाटन गर्दै उहाँले सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रियतातर्फ उन्मुख रहेको बताउनुभयो ।

‘केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको छ । यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादबाट जोगाउने जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ,’ उहाँले भन्नुभयो–संविधान संरक्षण गरी देशलाई शान्ति र प्रगतिको बाटोमा लैजाने हाम्रो लक्ष्य हो ।

कांग्रेसले सबै ठाउँमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । एकतावद्ध, संगठित र व्यवस्थित कांग्रेसले नै यी जिम्मेवारी बहन गर्न सक्दछ ।

उहाँले गत निर्वाचनमा कांग्रेसको पराजय र कम्युनिष्ट पार्टीहरुको एकीकरणले चुनौती थपिए पनि आफू विचलित नभएको बताउनुभयो । ‘
उहाँले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र कांग्रेस भन्दा प्रिय वस्तु अरु केही नभएको भन्दै बाल्यकालदेखि हालसम्म आफ्नो जीवन यसैमा समर्पित र बाँकी जीवन पनि यसै उद्धेश्यका लागि समर्पित रहने प्रण गर्नुभयो ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाले बारम्बार मिल्नुपर्छ र एकजुट हुनुपर्छ भन्ने गरे पनि व्यवहार त्यस्तो नभएको भन्दै देउवाको आलोचना गर्नुभयो । वरिष्ठ नेता पौडेलले पार्टीको राम्रो व्यवस्थापन हुन नसक्दा पराजय भोगेको भन्दै पार्टीलाई पारदर्शीढंगले चलाउनुपर्ने बताउनुभयो । ‘पार्टीलाई अब स्वच्छ राख्नुपर्छ, आन्तरिक लोकतन्त्र सृदृढ गर्नुपर्छ,’ नेता पौडेलले भन्नुभयो ।

उपसभापति विमलेन्द्र निधिले अब पार्टीभित्र सबै एक भएर पार्टीभित्र पुनर्संरचनामा लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको चुनाबमा हारे पनि अब जित्न मेहनत गरेर लाग्नुपर्ने बताउनुभयो । सरकारले राजनीतिक सिण्डिकेट लादेको उहाँको आरोप छ । नेकपाले आफ्नो हुकुमी शैलीमा काम गरेको उहाँको आरोप छ ।

महामन्त्री सशांक कोइरालाले पार्टीभित्रको गुट÷उपगुटका कारण चुनाब हार्नुपरेको बताउनुभयो । नेपाली कांग्रेसको सिद्धान्त र इतिहास राम्रो भए पनि जनताबीच लैजान नसक्नु कांग्रेस पराजयको एउटा कारक भएको उहाँले औंल्याउनुभयो ।

नेतृत्वलाई अप्ठ्यारोमा पार्न सक्ने
संस्थापन पक्षसँग ३२ जिल्ला सभापतिमात्र देखिएका छन् । भेलामा जिल्ला सभापतिहरुले पक्ष र विपक्षमा गर्ने बहसले नेतृत्वलाई अप्ठ्यारोमा पार्न सक्ने आँकलन गरिएको छ । संख्यात्मक रुपमा संस्थापन पक्षसँग भन्दा पौडेल र सिटौला पक्षसँग धेरै सभापति छन् । पौडेल पक्षसँग ३७ र सिटौला पक्षसँग ६ सभापति रहेको बताइन्छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि सिटौला संस्थापन देउवासँग टाढिएर पौडेलसँग नजिकिएका छन् ।

छलफलमा संस्थापन पक्ष पौडेल र सिटौला खेमालाई हाबी हुन नदिने रणनीतिमा छ भने पौडेल र सिटौला पक्ष सभापति देउवा कमजोर भएको सन्देश दिने गरी लागेका छन् ।

भेलाअघि नेपाली कांग्रेसले हेटौंडामा ¥याली निकालेर शक्ति प्रदर्शन गरेको थियो । कम्युनिष्टको गढ मानिएको मकवानपुरमा कांग्रेसले शक्ति प्रदर्शन गरेको थियो । हेटौंडाको बुद्धचोकबाट निकालिएको ¥याली पीपलबोट, चेम्बरमार्गहुँदै पल्पसा हलमा सभामा परिणत भएको थियो ।
बन्दसत्र आजदेखि

भेलाको दोस्रो दिन बुधबारदेखि जिल्ला सभापतिहरुको धारणासहित बन्द सुरु हुनेछ । जिल्ला सभापतिहरुले आआफ्नो जिल्लाको संगठन तथा राजनीतिक अवस्थाबारे धारणा राखेर सकिएपछि सात वटै प्रदेशको समूहगत छलफल हुने बताइएको छ ।

जिल्ला सभापतिहरुले संगठन, विधान तथा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रममा पछिल्लो समय निर्वाचनमा भोगिएको पराजयको सन्दर्भमा समेत समिक्षा हुनेछ । पार्टीले पराजय व्यहोरेको, नवीनढंगबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले भेलाबाट आफ्नो आधिकारिक धारणा तयार गर्नेछ ।

सभापतिहरुको भेला कांग्रेसको विधानअनुसार कार्यकारी पद होइन । यहाँ उठेका विभिन्न प्रश्न तथा भेलाबाट आएको सुझाव ग्रहण गर्दै अब चाल्नुपर्ने कदमका विषयमा आवश्यक सुझाव संकलन हुनेछ । सोहीअनुसार पार्टी केन्द्रीय समितिले आगामी रणनीति तयार पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्