इंग्ल्यान्डले अघिल्लो प्रदर्शन बिर्साउने



चार वर्षअघिको विश्वकपमा समूह चरणबाट बाहिरिएको लाजलाई ढाक्न यसपटक इंग्ल्यान्डले प्रयास गर्नेछ। त्यो नमीठो क्षण बिर्साउन यसपटक राम्रो खेल्ने इंग्ल्यान्डको योजना छ। इंग्ल्यान्डले आफ्नो समूह ‘जी’ को पहिलो खेलमा ट्युनिसियाविरुद्ध खेल्दै छ। ग्यारेथ साउथगेटको टोलीले ३ अंक जोड्नेमा कुनै सन्देह छैन। तर, भोल्गोग्राडमा ट्युनिसियालाई पन्छाउन इंग्ल्यान्डले कडा संघर्ष गर्नुपर्ने अनुमान लगाइएको छ। थ्री लायन्सको उपनामले चर्चित इंग्ल्यान्डले यदि हार बेहोरेमा त्योभन्दा बढी आश्चर्य केही हुने छैन।

इंग्ल्यान्ड २००२ र २००६ विश्वकपमा क्वार्टरफाइनल पुगेको थियो। टोली २०१० विश्वकपमा अन्तिम १६ मै रोकियो भने ब्राजिलमा समूह चरणबाटै बाहिरियो। यसो हेर्दा इंग्ल्यान्डको प्रदर्शन ओरालो लागेको छ। इंग्ल्यान्डले मैत्री खेलमा नाइजेरिया र कोस्टारिकालाई हराएको छ। फ्रान्ससँग २०१७ जुनमा ३–२ ले हारेयता इंग्ल्यान्डले कुनै पनि खेल हारेको छैन।

ट्युनिसियाको कोशिस पहिलो चरण पार गर्ने

विश्वकप २००६ पछि पहिलोपटक ट्युनिसिया विश्वकपमा खेल्दै छ। इंग्ल्यान्ड र बेल्जियम जस्तो सशक्त टोली ट्युनिसियाको समूहमा छन्। टोलीका लागि त्यति सहज छैन समूह चरण पार गर्न। तर, रेकर्ड हेर्यो भने अफ्रिकी टोलीले अहिलेसम्म समूह चरणबाट पार पाउन सकेको छैन। २०१० र २०१४ विश्वकपमा छनोट हुन नसकेको ट्युनिसिया १९७८, १९९८, २००२ र २००६ मा पहिलो चरणबाटै बाहिरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्