कालिमाटीका व्यवसायीसँगको सम्झौता रद्द गरिंदै



काठमाडौं, (नेस)
कालिमाटी फलफूल तथा तरकारी बजारमा कार्यविधि उलंघन गरेर व्यवसाय गर्ने व्यापारीलाई लिखित स्पष्टिकरण पेश गर्न दिएको एक हप्ताको म्याद आइतबार सकिएको छ । अघिल्लो आइतबारदेखि व्यपारीहरुलाई पत्र बुझाउन शुरु गरिएको थियो । तर, समयमै पत्र बुझ्न नआएकाले उनीहरु माथिको कारबाही प्रक्रिया लम्बिएको छ ।

सबै व्यापारीलाई पत्र बुझाइसकेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । पत्र बुझ्न नआउने दुई जना व्यवसायीको पसलमा आइतबार पत्र टाँस गरिएको छ । पत्र बुझेको एक हप्ताभित्रमा लिखित स्पष्टिकरण बुझाउनुपर्ने प्रावधानका कारण आगामी ९ गतेदेखि मात्र कारबाही प्रक्रिया अघि बढ्ने भएको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणि खनाल बलदेव नेतृत्वको टोलीले कालिमाटी फलफूल तथा तरकारी बजारमा छापा मारेपछि जेठ २५ गते बसेको बोर्ड बैठकले व्यवसायीलाई चार भागमा वर्गीकरण गरेको थियो । जसअनुसार कार्यविधि पूर्णरुपमा उल्लंघन गर्ने ९९ जनालाई रातो, अलि कम उल्लंघन गर्ने १३१ जनालाई निलो, फाट्टफुट्ट नियम उल्लंघन गर्ने २०९ जनालाई पहेलो रङमा वर्गीकरण गरेको थियो । पूर्ण रुपमा नियम पालना गर्ने व्यापारी १५९ जना कायम भएका छन् ।

आइतबारसम्म रातो समूहमा पर्ने ९० जनाले स्पष्टिकरण पेश गरेका छन् । बाकीभने अनुपस्थित रहे । अव उनीहरुमाथि असार ९ गतेपछि बोर्ड बैठक बसेर कारबाही प्रक्रिया थालिने कालिमाटी फलफूल तथा बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

कसैले बिरामी परेको, आफू विदेशमा भएकाले आफन्तले व्यवसाय सञ्चालन गरेको जस्ता कारणसहितका स्पष्टिकरण आएको भन्दै पोख्रेलले ९९ जनामध्ये एक दुई जनाबाहेक सबैको इजाजत पत्र खारेज गरी सम्झौता रद्द गरिने जानकारी दिए ।

बोर्ड कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति, किसानका प्रतिनिधि र व्यवसायी गरी ११ सदस्यीय छ ।

निलो समूहमा परेका १३१ जनामध्येबाट झण्डै २०र२५ जना रातो समूहमा पर्ने देखिएको छ । रातो समूहमा पर्नेले पनि बोर्ड बैठक बसेर निर्णय गर्नु अघिसम्म व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् ।

समितिलाई बोर्ड बैठकले निर्णय नगरी कारबाही गर्ने अधिकार नभएकाले प्रक्रिया लम्बिएको पोख्रेलको भनाइ छ । समितिले आफूहरुलाई कारबाही नगर्न भन्दै केही व्यवसायीबाट व्यवक्तिगत दबाबको पनि सामना गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्