सालझण्डी ढोरपाटन सडक निर्माण सँगै यात्रामा सहजता



शोभाखर पन्थी, अर्घाखाँची
दुई ठाउँमा गाडि फेरी ७ घण्टाको गाडीको यात्रा पुरा गरी बुटवल पुग्ने पटौटी अर्घाखाँचीका दुर्गा अधिकारी अहिले २ घण्टामै बुटवल पुग्छन् । पोखराथोकका निम बहादुर रास्कोटी बुटवलको लागि ३ घण्टाको पैदलबाटो हिंडी निगाली आएर ४ सय पचास रुपैयाँ भाडातिरेर पाल्पा हुँदै घण्टौ लगाएर बुटवल जाने गर्थे । अहिले दुई घण्टामै २ सय रुपैया भाडा तिरेर बुटवल जाने गरेको बताउँछन् ।

बुटवल जान मोटरसाइकलमा झण्डै ५ घण्टा लगाउने पणेना अर्घाखाँचीका पिताम्बर पोख्रेल अहिले २ घण्टामै बुटवल पुग्छन् । अधिकारी , रास्कोटी र पोख्रेलका कुरा सुन्दा सबैलाई आश्चर्य लाग्नु स्वभाविकै हो । तर सालझण्डी देखि सन्धिखर्क हुँदै ढोरपाटन सम्मको मोटरबाटो बने सँगै अर्घाखाँची जिल्लाका हजारौ स्थानीय बासिन्दालाई निकै राहतको महसुस भएको छ । बुटवलबाट गोरुसिङ्गे सन्धिखर्क सडक भएर सन्धिखर्क आउनु भन्दा सालझण्डी ढोरपाटन भएर आउँदा २७ किलोमिटर दुरी छोटो भएपछि जिल्लाका बासिन्दलाई यात्रा गर्न निक्कै सजिलो भएको हो ।

बुटवलको लागि गोरुसिङ्गे सन्धिखर्क सडक भेटाउन घुम्टि पर्खनु पर्ने पाणिनी गाउँ पालिकाको पोखराथोक, पटौटी, पणेना, धातिवाङ्ग, मैदान, पाली अड्गुरी र खिदिमका बासिन्दाहरुले आफ्नै घर आँगनबाट सालझण्डी ढोरपाटन सडक बने सँगै निकै खुसी भएका छन् । गाउँको बाटो भएर सडक गएपछि अहिले अर्घाखाँची र गुल्मी जिल्लाका विकट ग्रामिण क्षेत्रहरु समेत बजारीकरण बन्दै गएका छन् ।

घनाजङ्गल र बस्ती नै नभएका खर्कहरु समेत अहिले मानव बस्तीका कारण निक्कै आकर्षक स्थान बन्न पुगेका छन् भने एक दुईवटा खरले छाएर बनाइएको झुपडीहरुमा अहिले आकर्षक पक्की घरहरु बनाईदै गरेको देख्न सकिन्छ ।

सालझण्डी ढोरपाटन सडक निर्माण सँगै सडक आसपासका क्षेत्रमा जग्गा जमिनको मुल्य समेत आकासिएको स्थानीय बासिन्दाहरुको भनाई छ ।सडक निर्माणको कामले तिब्रता पाए सँगै शहरका मानिसहरु प्रत्येक दिन जग्गा किन्न आउने गरेका छन् ।

५/७ वर्ष पहिलेसम्म सित्तैमा जग्गा दिन्छौ भन्दा पनि कोहि किन्न आउने थिएनन् अहिले मुखको भाउमा जग्गा खोज्न आउने गर्दछन् पोखराथोकका रामबहादुर थापाले बताए । सडक निर्माणसँगै अहिले अर्घाखाँचीको सन्धिखर्क, दुर्गाफाँट,रतनमारे ,निगाली देउराली ,रुपन्देहीको सालझण्डी, गुल्मीको पुर्काेट दह, अर्खवाङ्ग, बाग्लुङ्को राजकुट, देविस्थान लगायतका बजार क्षेत्रमा घडेरीको मुल्य निक्कै आकासिएको छ । सन्धिखर्कमा एकहात घडेरीको मुल्य ५ लाख सम्म पर्ने गरेको स्थानीयको भनाई छ ।

सडक छेउकै ग्रामिण इलाका बजार क्षेत्रहरुमा प्रतिहात ५० हजार भन्दा बढी मुल्यमा घडेरी विक्रि हुने गरेको स्थानीय बासिन्दाको भनाई छ ।

झण्डै ६ वर्ष पहिलेबाट सुरु भएको सडक निर्माणको कामलाई निक्कै तिब्रताका साथ अँगाडि बढाइएको छ। हाल सालझण्डी देखि ढोरपाटन सम्म १ सय ९५ किलोमिटर सडकको ट्याक खुलेको छ सालझण्डी देखि गुल्मी र बाग्लुङ्गको सिमा क्षेत्र सम्मको १ सय ५५ किलोमिटर सडकमा डबल कटिङको काम पुरा भएको छ भने अर्खवाङ्ग,बुर्तिवाङ्ग हुँदै ढोरपाटन सम्म स्टक्चर निर्माण र कटिङ्गको काम भई रहेको छ ।करिव ६५ किलोमिटर सडक खण्ड ग्राभेल भईसकेको सालझण्डी ढोरपाटन सडक आयोजनाका प्रमुख होम बहादुर ए.सी.ले जानाकारी दिए ।

ढुङ्ग्रेखोला र कन्चन खोला बीचको १८ कि.मी. सडक ठेक्का लागेको ४ बर्ष सम्म पनि कम्पनीले प्रभावकारी रुपमा काम नगर्दा सोंचे अनुसारको प्रगती हुननसकेको आयोजना प्रमुख ए.सी.को गुनासो छ । आफुहरुले पटक पटक ताकेता गर्नूका साथै जरिवाना काट्दा पनि अटेरगरी काममा ढिला सुस्तीगरेपछि बि.टी.जयबाबा जे.भि.कम्पनीका प्रतिनिधिलाई ५ दिन थुनामा राखेको भन्दै उनले असार २० गते सम्म काम सम्पन्न नगरेमा संझैता तोडेर कार्बाहि गर्ने तयारी गरेको बताए ।

सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत सदरमुकाम सन्धिखर्कको रुटमा भने लामो समयदेखि विवाद रहँदै आएको छ । चुत्रावेशी सन्धिखर्क बजारको विचबाट सडक लैजाँदा केहीघरमा क्षति पुग्नुका साथै आर्थिक तथा भौतीक विनास व्यहोर्नुपर्ने भन्दै स्थानीय बासिन्दाले बिरोध गर्दै आएका छन् ।

सडक आयोजनाका प्रमुख ए.सी.ले भने जनताले कुरा नबुझेर बिरोध गरेको बताए । जनताको उठीबास गरेर सडक लैजाने आफुहरुको कुनै मनसाय नभएको भन्दै उनले जनप्रतिनिधि, राजनैतिक दल,नागरिक समाज र स्थानीय समाज सेविको पहल र मध्यस्ततामा बिबादास्पद ठाउँमा जनताको सहमतीमै सडक खोलिने बताए ।

सालझण्डी ढोरपाटन सडकआयोजनाले ५० मिटर बाटो बनाउँ छ भनेर अनाबस्यक रुपमा हल्ला गरेर जनतालाई भ्रममा पारीएको छ हामीले बनाउन खोजेको बाटो केबल १२ मिटर मात्रै हो भन्दै उनले अँगाडि भने त्यस्को लागि पनि क्षती पूर्तिको व्यबस्था गरेका छौं । राम्रो सँग कुरा बुझेपछि जनता स्वयं बाटो बनाउन आग्रह गर्दै आउने उनको बिश्वास छ ।

राष्ट्रिय गौरवको आयोजना लाई सम्पन्न गर्न आयोजनाका प्रमुख र कर्मचारी हरु अहोरात्र खटिरहेकाछन् । जिल्लाका निर्वाचित सांसद तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले समेत सडकको कामलाई समयमै सक्न ठेकेदार लाई पटक पटक दवाब दिदै आएका छन् । यसैबीच समयमै काम सम्पन्न गरेका आयोजनाका ठेकेदारले काम सकेको लामो समय सम्म पनि रकम भुक्तानी नपाएको गुनासो गरेका छन् ।

उनीहरुले आयोजनाले रकम भुक्तानी नदिएपछि आफुहरुको कारोवार चौपट भएको गुनासो गरे । आयोजनाका प्रमुख ए.सी.भने पटक पटक आग्रह गर्दापनि केन्द्र बाट रकम नआएकोले भूक्तानी दिन नसकेको बताउँछन् । काम सकेका ठेकेदार लाई समयमै भक्तानी दिन नसक्दा निक्कै भनाई सहनु परेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्