क्षेत्रीय ट्राफिक प्रमुख पालको पैसा मोह, अस्थाई पोष्टबाट तोकेरै रकम असुल



हेमन्त पौडेल
धनगढी
क्षेत्रीय ट्राफिक प्रहरी कार्याल अत्तरियाका प्रमुख योगबहादुर पालको पैसा मोहका कारण ट्राफिक प्रहरी प्रति जनता रुष्ट हुन थालेकाछन् । आफ्नो दायित्वलाई विर्सेर ट्राफिक प्रहरीका क्षेत्रीय प्रमुख प्रहरी उपरिक्षक पालले रकम असुलीलाइनै धेरै महत्व दिएकाले जनताहरु आक्रोशित हुन थालेकाछन् । प्रदेश नम्वर सातको ट्राफिक ब्यवस्थापनको जिम्मा लिएर एक वर्ष अघि अत्तरिया पुगेका एसपी पालले आफ्नो भूमिका निर्वाह गर्न सकेकाछैनन् । दुर्घटना न्यूनिकरणका विषयमा गम्भीर भएर लाग्नुभन्दा पनि कसरी पैसा उठाउन सकिन्छ भन्नेमै उहाँको ध्यान गएको छ ।

मुख्य राजमार्ग र सहायक बाटोहरुमा कुद्ने सवारी साधनहरुको चेकजाँचका नाममा एसपी पालको नेतृत्वमा रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका कार्यरत ट्राफिक प्रहरीले उहाँकै निर्देशन अनुसार रकम असुलीलाई तिब्र पारिएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको मुलद्वार नजिक चेकजाँच पोष्ट छ तर उक्त स्थानमा चेकजाँच नगरेर तीन किलोमिटर पूर्व मनहरा नदीको पूल छेउको जंगलमा गएर चेकजाँच गर्ने गरेकाछन् । एकातिर एकान्त ठाउँ र जंगलमा गएर चेकजाँचको नाममा पैसा उठाउने काम भएको छ भने आर्कोतिर कैलाली र कञ्चनपुरका विभिन्न अस्थाई पोष्टबाट रकम तोकेर उठाउने गरिएको छ । अस्थाई पोष्टमा जसले बढी रकम बुझाउने कबुल गर्छ उसैलाई पठाउने गरिएको छ ।


दुर्घटनाको संख्या बढेपनि मतलब छैन तर उनलाई पैसा चाहिन्छ,मासिक पैसा जसले बढी दिनसक्छ उनलाइ ट्राफिक पोष्टमा खटाउँछन् ।


एसपी पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियामा आएको केही समयपछि विरामी परेपछि उहाँको आइसीयूमा राखेर उपचार गर्नुपरेको थियो । आइसीयूमा राखेर उपचार गर्दा बढी रकम खर्च भएपछि उपचार खर्चको ब्यवस्थापन गर्न अस्थाई प्रहरी पोष्टहरुलाई रकम बढाइएको थियो । विरामी हुनुभन्दा पहिला कम रकम तिर्ने पोष्टहरुले आजभोली बढी तिर्नु परेको छ ।

एसपी पाललाई मासिक पठाउनुपर्ने रकम पोष्टमा खटिएका ट्राफिक प्रहरीले जथाभावी उठाउन थालेपछि स्थानीयहरुको चर्को विरोध हुन थालेको छ । समाचार स्रोतका अनुसार ट्राफिक प्रहरी पोष्ट सुखडले ४० हजार,लम्कीले ३० हजार,चिसापानीले २५ हजार ,टीकापुरले ३० हजार,मसुरियाले २० हजार ,चौमालाले २५ हजार,गेटाले २० हजार ,त्रिनगरले ६० हजार,पुनर्वासले २० हजार ,कञ्नपुरको कलुवापुरले २० हजार र पहाडी क्षेत्रको पोष्टबाट प्रत्येक महिनाको ५ हजार बुझाउने गरेकाछन् ।

हरेक महिनाका १ गते स्टाफ बैठक भन्दै बोलाइएका इन्चार्जहरुले एसपी पाललाई रकम बुझाउने गरेकाछन् ।एसपी पाललाई क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका हवलदार गोकर्ण पालले सहयोग गर्ने गरेकाछन् । एसपी पालका विश्वासपात्रका रुपमा रहेका हवलदार गोकर्णले आन्तरिक ब्यवस्थापनको काम गर्दै आएकाछन् ।

सडकमा गुड्ने सवारी साधनहरुलाई विभिन्न बाहाना बनाएर रकम असुल गर्दै आएको दृष्यहरु पनि राजमार्गहरुमा देखिन्छन । विभिन्न बजारमा आफ्ना पोष्टहरु भएपनि किन जंगल क्षेत्रमा गएर रकम असुल गरिन्छ ? स्थानीयको प्रश्न छ ।

राजस्वा संकलनका नाममा जथाभावी दुःख दिने गरेको जन गुनासो बढिरहेको छ । ट्राफिक प्रहरीले काट्ने रसिदहरुको विश्वसनीयतामाथि प्रश्न उठेको छ । कतिपय सवारी साधनलाई रसिदनै नदिएर छोड्ने गरिएको छ । पछिल्लो समयमा ट्राफिक प्रहरीको आतंक बढ्दै गएको स्थानीयहरु बताउँछन् । सामाजिक सञ्जालहरुमा पनि ट्राफिक प्रहरीले दिएको दुःखका बारेमा आउने गरेकाछन् ।

नेपाल प्रहरीको प्रमुखमा सर्वेन्द्र खनाल आएपछि नेपाल प्रहरीको विश्वसनीयता बढ्नो आवशा गरिएको थियो तर एसपी पाल जस्था कार्यालय प्रमुख हुने हो भने नेपाल प्रहरीको साख घट्ने नागरिक अगुवाहरुको भनाई छ । नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाका अनुसार प्रहरी संगठनको बद्नाम गरेर आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्न नपाईने बताउनुभयो । नेपाल प्रहरीको गरिमा माथि प्रश्नचिन्ह लगाउँदै ब्यक्तिगर्त हितको काम गर्ने अधिकार कसैलाई नभएको उहाँको भनाई छ । यस्तो गरेको पाईएमा तत्काल कार्वाही हुने प्रवक्ता थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्