उम्मेदवार हुँदा एजेन्डा, मन्त्री भएपछि अरुद्वारा माग



बाँके (नेस) । मो. इस्तियाक राइ गएको चुनावमा यहीका उम्मेदवार थिए । ठूल्ठूला पार्टीका उम्मेदवारलाई पछारेर उनी अघि बढे । बाँके क्षेत्र नं. २ को सांसद हुँदै मन्त्री भए ।

शहरी विकास मन्त्री भएपछि राइ पहिलो पटक घर आएका छन् । गृह जिल्लामा उनलाई यतिबेला बधाई र सम्मानले भ्याई–नभ्याई छ ।
जिल्ला समन्वय समितिको संयोजनमा आइतबार जनप्रतिनिधि र कार्यालय प्रमुखसँग मन्त्री राइको साक्षत्कार राखियो । जनप्रतिनिधिहरुले भेरी अञ्चल अस्पतालको स्तर उन्नति, नेपालगञ्ज विमानस्थलको स्तर उन्नति गरेर नेपालगञ्ज–दिल्ली उडान, डुवान, भारतले बनाएको सडकजस्तो बाँध, हुलाकी सडकदेखि स्वास्थ्य समस्याका बारेमा मन्त्री राइको ध्यानाकर्षण गराए । एक प्रकारले भन्ने हो भने यहाँको प्रमुख समस्याहरु यी हुन्, यसमा हेरविचार गरिदिनु प¥यो भने ।

हिजो चुनावमा उम्मेदवार बन्दा यी सबै राइका एजेन्डा थिए । नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नं. २ को उम्मेदवार बनिरहदा राइले यी सबै समस्याहरु आफ्नो एजेन्डामा समेटेका थिए । समयले साथ दियो । चुनाव जिते । उनी मन्त्री भए । उनकै एजेन्डालाई अहिले जनप्रतिनिधिहरुले उनैलाई सुनाएका छन् । काम गरिदिनु प¥यो भनेका छन् ।

जिल्ला समन्वय समितिका उपसंयोजक ज्ञानेन्द्र चौधरी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद साह, कोहलपुर नगरपालिकाकी उपमयेर सन्जुकुमारी चौधरीले चुनावमा आफ्नै एजेन्डा रहेका अधिकांश समस्या सुनाएपछि मन्त्री राइले सबैको समाधानसहित नमूना शहर बनाउन लागि परेको उद्घोष गरे ।

मन्त्री राइले देशका सात वटा शहरमा मेघासिटी बनाउने र त्यसमा नेपालगञ्ज पर्न सक्ने बताए । भारतले दशगजामा बनाएको सडकजस्तो बाँधले डुवानमा पार्ने भएकाले त्यसको उचित निकासका लागि सरकारले भारतसँग छलफल अघि बढाइसकेको बताए । राइले कृषियोग्य जमिन खण्डीकरण गर्न नदिने सरकारी तयारी रहेको बताए । उनले गुणस्तरहीन काम गर्ने ठेकेदार र कार्यालयलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिए । ‘कमसल भवन, संरचना बनाउनेहरुलाई १५ दिनभित्र जेल हाल्छौं, मन्त्री राइले भने, त्यस्तो कानून बनाउदैछौं । राईले कसैको राजनीतिक दबाबमा परेर काम नगर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले सुशासनलाई केन्द्रविन्दुमा राखेर विकास निर्माणका काम गर्नु पर्ने बताए ।
मन्त्री राईलाई आइतबार नै बिहान नेपालगञ्ज उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्