होटल नान्सको क्यासिनोमा प्रहरीको छापा



यमलाल भुसाल, बुटवल
अवैध ढंगले सञ्चालन भएको आशंकामा प्रहरीले रुपन्देही जिल्लाको भैरहवामा संचालित नान्स होटलको मिनी क्यासिनोमा छापा मारेको छ । संघीय प्रहरी इकाई कार्यालय लुम्बिनी भैरहवाबाट खटिएको टोलीले क्यासिनोमा छापा मारेको हो ।

छापा मार्दा चाररपाँचजना नेपाली ग्राहक पनि भेटिएपछि प्रहरीले उनीहरुलाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । कानुनले क्यासिनोमा नेपाली ग्राहकलाई प्रवेशमा प्रतिबन्ध गरेको छ ।

क्यासिनो सञ्चालकले त्यहाँ भेटिएका नेपालीहरु क्यासिनोका कर्मचारी भएको दावी गरे पनि परिचयपत्र नभएकाले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको संघीइ प्रहरी इकाई कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताउनु भयो । होटल नान्सले सञ्चालन गरेको क्यासिनो अवैध भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएको आधारमा सत्य तथ्य बुझ्न छापा मारिएको ढकालले बताउनु भयो । उहाँले क्यासिनो सञ्चालन सम्बन्धी आधिकारिक कागजपत्र मागिएको समेत जानकारी दिनु भयो ।

२०६८ वैशाख १६ गते भैरहवास्थित होटल नान्समा मिनी क्यासिनो सञ्चालन गर्ने गरी रुपा इन्टरनेशनलले १० वर्षे सम्झौता गरेको थियो । रुपाका सञ्चालक मनोज सुवेदी र हयाप्पी आवरका सञ्चालक सुरेन्द्रबहादुर सिंहबीच केही समयपछि विवाद हुँदा उक्त विवाद अदालतमा पुगेको थियो । दुबै पक्षले अदालतमार्फत अन्तरिम आदेश लिई अहिलेसम्म दुबै स्थानमा क्यासिनो व्यवसाय सञ्चालन गरिरहेका छन् ।

त्यसअघि ०७४ वैशाख २४ गते पनि सर्वोच्च अदालतले नान्समा सञ्चालित क्यासिनो सञ्चालन गर्न नरोक्नु भन्ने अन्तरिम आदेश दिएको थियो भने पछिल्लो समय होटल लाकौलमा सञ्चालित क्यासिनो सञ्चालन गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्