दमोखिं बाजा बजाउने प्रतियोगिता शुरु



नेपाल समाचारपत्र
ललितपुर । परम्परागत नौ बाजा मध्ये दुर्लभ मानिने दमोखिं बाजा बजाउने प्रतियोगिता शुरु भएको छ। न्यकू जात्रा मतयाः व्यवस्था समिति र पाटन जेसिसले सो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा न्यकू जात्रा संचालन गर्ने पाटनका १० वटा क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

।प्रतियोगिताको उद्घाटन समारोहमा समितिका संस्थापक अध्यक्ष मोतिलाल शिल्पकारले दमोखिं बजाउने कलाकार उत्पादन गर्ने उद्देश्यले गरिएको सो प्रतियोगिता इतिहासमै पहिलो पटक रहेको बताउनुभयो । दमोखिं बाजाको प्रथम प्रतियोगितामा नै ८ वर्षीय बालक र बालिकाहरुले महालक्ष्मी, भैरव र कौमारीको प्रतीकका रुपमा रहेको तीन वटा दमोखिं बजाएको थियो ।

‘दमोखिंमा युवाहरुलाई आकर्षित गराउन प्रतियोगिताको आयोजना गरेका हौं,’ विकास पाटन जेसिसका निवर्तमान अध्यक्ष श्रीजेष लाल शिल्पकारले भन्नुभयो । नेपाल संवत् अनुसार गु“लाको महिला (श्रावण – भदौमा) मनाईने जनैपूर्णिमा, मतयाः लगायत पर्वहरुमा सो बाजा बजाउने गरिन्छ

१० टोलका बाद्यगुरुहरु नकबहिलका हरिलाल श्रेष्ठ, मंगलबजारका रमेश बहादुर श्रेष्ठ, चत्रबहिलका दिल मोहन ताम्रकार, ईखाछें नागबहाःका भिम रत्न शाक्य, बुबहाःका रत्न बहादुर शाक्य, हौगःका प्रेमकृष्ण राजकर्णिकार, ओकुबहाःका शान्तमानन्द शाक्य, ईखालखुका पवन कुमार ताम्रकार, कोबहालका कमलदास श्रेष्ठ र सौगः टोलका नरेश मान शाक्यको नेतृत्वमा बैकल्पिक सहित चार जना दमोखिंबादक, भुसिया र गायक समूहहरुले प्रतिस्पर्धामा भाग लिएको आयोजक समितिका महासचिव रामकृष्ण चित्रकारले बताउनुभयो । प्रतियोगिताका उत्कृष्ट तीन समूहलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद राशी पुरस्कार व्यवस्था गरिएको बताइएको छ ।

प्रतियोगिताबाट ५ उत्कृष्ट दमोखिं वादन समूह छनौट हुने छ । असार ९ गते मंगलबजारको कार्तिक दबलीमा अन्तिम प्रतियोगता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्