पहिरोले सवारी आवागमन प्रभावित



हेटौंडा, (नेस)
पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ को छेपारे तथा कुलेखानी र भीमफेदी गाउँपालिका–२ को महभीरमा पहिरो खस्दा सवारी आवागमन प्रभावित बन्न पुगेको हो ।

सडकमा पहिरो खसेपछि शनिबार बेलुका ७ बजेदेखि महभीर हुँदै पालुङ–काठमाडौं चल्ने सवारीसाधन प्रभावित भएका छन् । छेपारे र कुलेखानीमा खसेको पहिरोका कारण फर्पिङ–सिस्नेरी चल्ने सवारीसाधन पनि चल्न सकेका छैनन् । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।

अविरल वर्षाका कारण महभीर र सातघुम्तीमा पहिरो जाँदा शनिबार रातिदेखि अवरुद्ध त्रिभुवन राजपथ आइतबार विहानबाट भने सञ्चालन भएको छ । राजपथ सुचारु भएपछि हेटौंडा–काठमाडौं यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षाकै कारण मदन भण्डारी राजमार्गअन्तर्गत् हेटौंडा–कुलेखानी सडक अवरुद्ध भएको छ । हुमानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सडक खुलाउन पालुङबाट डोजर र प्राविधिक आइतबार विहान त्यसतर्फ पठाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्