वासुकी पार्कको सम्भाव्यता अध्ययन शुरु



नेपाल समाचारपत्र, काभ्रे
बनेपा नगरपालिकाले साविक साँगा गाविस हालको वडा नम्वर १३ मा बासुकी पार्क बनाउने प्रस्ताव तयार गरी पार्कको सम्भाब्यता अध्ययन शुरु गरेको छ ।

आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धन गर्न नेपाल पर्यटन वोर्डसंगको साझेदारीमा बनेपा नगरपालिका, जिल्ला समन्वय समितिको समन्वयमा पार्क निर्माण प्रकृया अगाडी बढाईएको नगर प्रमुख लक्ष्मीनरसिं बादेले भने । नागरिकहरुलाई प्राकृतिक र सर्बसुलभ मनोरञ्जन दिन, स्थानीयहरुका लागि सुरक्षित मर्निङ्ग वाक (शुभ अभ्यास) स्थल उपलब्ध गराउन र बिपन्न र बेरोजगार समुदायका लागि यात्रु सत्कारका ब्याबसायिक अवसर प्रदान गर्ने उदेश्यले उक्त पार्क निर्माणको प्रकृया अगाडी बढाईएको हो ।

 

बासुकी पार्क निर्माणसँगै उक्त स्थानमा आसपासका थुम्काहरुको परम्परागत रुपमा रहेका गाई बस्तुलाई पानी खुवाउने १० वटा पोखरीहरुलाई पुनः निर्माण गर्दा पर्यापर्यटनको आकर्षण बढ्नुका साथै पानी रिचार्ज भएर १० वटा बस्तीहरु पूर्वावस्थामैं हराभरा गराउने तयारी गरिएको छ ।

बासुकी थुम्कामा पार्क सहित हाईकिङ्ग रुट कायम गरिएको छ । मुहान टोल, कागल बस्ती कागल बाट ५ सय मीटर माथी सींढि मार्ग बनाएर खरानी थुम्का पुग्ने (बिच भागमा बिश्राम स्थल, थापा गाउँ, राय गाउँ बनेपा.१०, पाण्डे गाउँ, बनेपा. ११, राय गाउँ र पाण्डे गाउँको बिचबाट माथी झाँक्री गुफा, झाँक्री गुफा माथी भगवान थुम्का, (पाण्डे गाउँ बाट झाक्री गुफा हुदै भगवान थुम्का सम्म सिढि निर्माण, ५ सय मिटर खरानी थुम्काबाट, भगवान थुम्कासम्म बाटो निर्माण गरी थुम्कीलाई रमणीय बनाईने योजना तयार गरिएको छ ।

त्यस्तै मनकामना मन्दिर, नेवार गाउँ, बनेपा १०, वडा नं.१३ बाँजावन माथिको कुटीबाट बासुकी थुम्कासम्म ५ सय मिटर सडक निर्माण र बासुकी थुम्कामा बिश्राम स्थल निर्माण हुनेछ । पार्कमा सिंढी निर्माणसँगै ९ वटा बिश्राम स्थल, १० वटा रिचार्ज पोखरी, भ्यु टाओर र चार वटा भ्यु प्वाईन्ट निर्माण हुनेछ । सहिद पार्क, सहिद स्तम्भ, मनोरन्जन पार्क, चिल्ड्रेन पार्क, बिश्राम स्थल तीन वटा, शौचालय, गेटसम्मा कम्पाउण्ड, बगैचा, खानेपानीको समेत व्यवस्थापन हुनेछ ।

बनेपा नगरपालिका भित्र शहर वरिपरि रहेका सुन्दर प्राकृतिक थुम्काहरु गोसाँइथुम्का, देउराली डाँडा, गुम्वा डाँडा, ठूलोवन, सल्लेडाँडा, चतुरे डाँडा, पेरुङगे डाँडा र वाँसुकी थुम्काले प्राकृतिक सौन्दर्यता प्रदान गर्दै आएका छन् । धार्मिक क्षेत्रको हिसावले बनेपालाई महत्वपूर्ण नगरको रुपमा चिनाएको छ । स्थानीय समुदायको आय आर्जनमा सहयोग पुग्ने गरी पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले यो पार्कलाई विशेष महत्वका रुपमा लिएको छ । नगरपालिकाले गत चालु वर्षको बजेटमा उक्त पार्क निर्माण गर्ने घोषणा गरिएको थियो ।

पार्कका लागि भ्याट सहित ९ करोड ९५ लाख ३१ हजार ४ सय ६६ रुपैया लागत स्टमेट गरिएको छ । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, समन्वय समितिका प्रमुख उद्धव केसी, सव इन्जिनियर हरिचन्द्र लामिछाने सहितको टोलीले पार्क निर्माण हुने स्थानको अवलोकन समेत गरेको छ । अवलोकन पश्चात पार्क निर्माणको डिटेल सर्भे तयार गरिएको हो । नगरपालिकाले उक्त योजना सम्पन्न गराउने गरी तयारी शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्