राजनीति, यौनजीवन र मूल्यमीमांसा



-कपिल काफ्ले
राजनीतिको मूल्य नेताहरुलाई बढी र आम जनतालाई कम हुन्छ, यद्यपि राजनीतिले नछुने कुनै व्यक्ति हुँदैन । यसरी हेर्दा राजनीतिलाई यौनसँग तुलना गर्न सकिन्छ, किनभने यो पनि जीवनमा प्रायः सबैलाई चाहिने वस्तु हो तर यस विषयमा राजनीतिको जस्तो चर्चा हुँदैन । जबकि राजनीतिले भन्दा बढी यौनले घरपरिबार जोड्ने र फुटाउने काम गर्छ, गरिरहेको छ ।

पछिल्ला वर्षमा तुलनात्मक रुपमा यौनका विषयमा नेपाली समाजमा पनि बहस बढेको छ । खासगरी अधिकारकर्मीहरुले राजनीतिक र सामाजिक अधिकारभित्र यौन स्वतन्त्रताको पक्षलाई बलियो रुपमा उठाउन थालेपछि बहसको मूलधारमा यसले पनि स्थान पाउन थालेको छ । अहिले लैङ्गिक समानता तथा सामाजिक समावेशिताको मुद्दा प्राथमिकतामा छ । यौनिक तथा लैङ्गिक पक्षलाई बिर्सेर ‘जेसी’ नीतिलाई राज्यले पूर्णता प्रदान गर्न सक्तैन ।

नेपालको संविधानलगायतका नीतिगत दस्तावेजहरुमा लिङ्गका आधारमा कुनै पनि नागरिकमाथि विभेद नगरिने बरु पितृसत्तात्मक सोच र पुरुषप्रधान मानसिकताले ग्रस्त परम्पराका कारण पछाडि पारिएका वर्ग तथा समुदायका लागि समताको रणनीति अख्तियार गर्नेगरी सकारात्मक विभेदको प्रावधान अवलम्बन गर्ने प्रगतिशील मान्यता निर्दिष्ट गरिएको छ । तर, यी मान्यता, सोच र प्रावधानहरु व्यवहारतः पूरा भएका देखिंदैनन् । यसो किन भइरहेको छ भनेर खोजी पस्ने हो भने यौन अधिकारका विषयमा अझ पनि समाज संकुचित मनस्थितिमा रहनु नै हो । यौनको मूल्य नबुझ्नु वा बुझे र पनि बुझ पचाउनु नै यसको एक प्रमुख कारण हो । मूल्य बुझ्नकै लागि यहाँ यसको दार्शनिक पक्ष, मूल्यमीमांसाका बारेमा चर्चा गरिन्छ ।


पश्चिमेली दर्शनमा प्लेटोले मूल्यमीमांसाको उदय गराएको र अरस्तुले आचारशास्त्र, राजनीतिशास्त्र र तत्वविज्ञानमा यसको व्याख्या र विकास गरेको देखिन्छ । मानवको उच्च आदर्श खोज्ने क्रममा प्रारम्भिक अवस्थामा मूल्यमीमांसाको व्याख्या ईश्वरप्राप्तिसँग गरिएको छ ।


जैविक भिन्नताका आधारमा सामाजिक विभेद सिर्जना भएको सर्वविदित छ । लिङ्ग सत्तामीमांसा (अण्टोलोजिकल) हो भने लैङ्गिकता ज्ञानमीमांसा हो । यी दुईको विश्लेषण विना लैङ्गिक समानताको स्थिति पहिचान हुनसक्तैन । त्यसो त, सत्ता र ज्ञानका अतिरिक्त मूल्य मीमांसा पनि छ, जसले बीचको बाटो देखाउँछ । अंग्रेजीमा ‘एक्सियोलोजी’ भनिने मूल्यमीमांसाले वस्तुको मूल्य स्वरुप, प्रकार र उसको तात्विक सत्ताको अध्ययन गर्दछ त्यसैले नै यसलाई ज्ञान र सत्ताको मिश्रित मार्ग वा मध्यमार्ग भनिएको हो ।

मूल्यमीमांसाले कुनै वस्तुका दुई पक्ष हुन्छन् भन्छ । तथ्यले खास वस्तुको वर्णनका साथै त्यसको मूल्यनिर्धारण पनि गर्दछ । स्वभावतः यसभित्र वस्तुको गुण–दोषको समीक्षा गर्ने काम पनि पर्नआउँछ । वस्तुको मूल्यको समीक्षा गर्दा त्यसबाट व्यक्तिले पाउने लाभ वा हानी अथवा सुखद् वा दुखद् अनुभूतिको विषयले प्राथमिकता पाउँछ ।

मूल्यमीमांसाले स्वभावतः वस्तुको मूल्यमा बढी केन्द्रित भएर हेर्छ । तर, चुनौती कहाँनिर हुन्छ भने मूल्यनिर्धारण व्यक्तिगत दृष्टिकोण, अनुभव र उसले भोगेको परिवेशमा निर्भर गर्दछ । काठमाडौंमा हुर्की–बढी गरेको सम्भ्रान्त वर्ग र कालिकोटको कृषकले लैङ्गिक समानतालाई एकै रुपमा बुझ्न सक्तैन । राजधानीको वासिन्दाका लागि ‘श्रीमान्–श्रीमती दुवै सरकारी जागिरे, सँगै घर फर्किएपछि श्रीमती किचेनमा चिया बनाउन पस्ने श्रीमान् टेलिभिजन खोलेर किन सोफामा बस्ने ?’ भन्ने सबाल लैङ्गिक समानताको कडी हुनसक्छ भने कालिकोटमा ‘ठूलीले घाँस जाँदा उतै बच्चा पाइछ, ऊ हिंडेरै घरफर्किछ, श्रीमान्ले घाँसको भारी पिठ्युँमा र बच्चा हातमा बोकेर ल्याएछ’ भन्ने विश्लेषण लैङ्गिक समानतामा समेटिन्छ । कालिकोटको ग्रामीण कृषक परिवारका लागि मानवअधिकारका दृष्टिले हेर्दा देखिने सुरक्षित मातृत्व, बालअधिकार र प्रजनन स्वास्थ्य आदि सबाल नै बन्दैनन् भने राजधानीमा चिया र सोफा सबाल बन्छन् ।

सर्वविदित छ, सामाजिक–आर्थिक–धार्मिक–कानुनी आदि दृष्टिले श्रीमतीका लागि श्रीमान्को मूल्य बढी, तर श्रीमान्का लागि श्रीमतीको मूल्य न्यून हुने लैङ्गिकतामा नेपाली समाज छ । अर्कातिर प्रणयपूर्ण सम्बन्ध, यौनसन्तुष्टि, बात्सल्यता प्रवद्र्धन, घर–व्यवहारको व्यवस्थापन आदिमा भने पुरुषका लागि महिलाको मूल्य अधिक छ । खुला रुपमा यस यथार्थलाई स्वीकार गर्न तथाकथित ‘पुरुषत्व’ले पुरुषलाई नदिएको अवस्था देखिन्छ, तर सत्य यही हो ।

पश्चिमेली दर्शनमा प्लेटोले मूल्यमीमांसाको उदय गराएको र अरस्तुले आचारशास्त्र, राजनीतिशास्त्र र तत्वविज्ञानमा यसको व्याख्या र विकास गरेको देखिन्छ । मानवको उच्च आदर्श खोज्ने क्रममा प्रारम्भिक अवस्थामा मूल्यमीमांसाको व्याख्या ईश्वरप्राप्तिसँग गरिएको छ । तर, पछिल्ला दार्शनिकले धार्मिक पक्षका अतिरिक्त सामाजिक र आर्थिक विधामा पनि यसको व्याख्या गरेका छन् । दार्शनिक कान्टले मूल्यमीमांसालाई सौन्दर्य तथा धर्मका विषयमा यसको सुन्दर व्याख्या गरेका छन् भने हिगेलले आध्यात्मवादमा आचार, कला र धर्मको मूल्य स्थापित गर्ने प्रयास गरेका छन् । १९औं शाताब्दीमा आएर भने विकासवादी सिद्धान्त, समाजशास्त्र, मनोविज्ञान र अर्थशास्त्रलाई पनि मूल्यमीमांसाका दृष्टिले व्याख्या गरियो ।

केही दार्शनिकहरु भन्छन्, ‘ईच्छाको तृप्ति नै मूल्य हो’ । कतिको भनाइ छ, ‘सुखको प्राप्ति र अनुभूतिले मूल्य निर्धारण गर्दछ’ । यस्तै, अभिरुचि, प्राथमिकता, तर्कसंगत ईच्छाआदिलाई दार्शनिकहरुले मूल्यमीमांसाको मापदण्डका रुपमा लिएका छन् । अधिकांशका विचारमा मूल्यमीमांसाको पहिचान स्वतन्त्र छैन, बरु सापेक्ष छ । व्यक्तिको रुचि, अरुचि र मानसिक स्थिति र आवश्यकतामा निर्भर गर्दछ । तर कतिपय दार्शनिकका विचारमा मूल्य रुप, रस, गन्धजस्तै विषयगत मान्दछन्, कति दुवैको संयोजनमा यसको अस्तित्व देख्छन् । मूल्यको दुई प्रकारको चर्चा गर्दै दार्शनिकहरु शुभ, सत्य, शिव, सुन्दर र पवित्रलाई अन्तर्वर्ती मूल्य मान्दछन् भने कति शारीरिक कल्याण, सम्बन्ध र क्रिडालाई । यहाँनिर रमाइलो पक्ष के छ भने, हरेक सत्य वस्तुमा मूल्य नहुनसक्छ किनभने कतिपय सत्यले व्यक्तिको जीवनमा कुनै मूल्य राख्दैन । चरा काआशमा उड्छ– सत्य हो, तर कुनै व्यक्तिलाई चरा आकाशमा उडेको दृश्यले न त आनन्दित बनाउँछ न त त्यसबाट कुनै लाभ प्राप्त हुने जानकारी नै छ । यसरी हेर्दा, सूचनाको अधिकार प्राप्त नभएका र अधिकारलाई सदुपयोग गर्न नसक्ने व्यक्तिका लागि र सो अधिकार पाएका व्यक्तिका लागि मूल्यमीमांसा फरक हुने देखिन्छ ।

नेपाली नागरिकका सन्दर्भमा यो पक्ष अत्यन्त महत्वपूर्ण छ, किनभने कानुनले सूचनाको हक दिएर पनि यसको सदुपयोग गर्न नसक्नेको जमात हामीकहाँ ठूलो छ, यसभित्र खासगरी महिला र किशोरी बढी छन् । ‘भजाइना मनलग’ का लेखिका इभ इन्सलरले ‘यौन चरम शुख’ अर्थात् ‘अग्र्याजम’का बारेमा विश्लेषण गर्दै भनेकी छन् ‘सूचनाको अभावले प्राकृतिक रुपमा प्राप्त हुने ‘अग्र्याजम’बाट आजीवन वञ्चित महिलाको परिमाण विश्वमै ठूलो छ । सूचनाको हकबाट महिला र किशोरीलाई वञ्चित गराइएका कारण त्यसको आनन्दबारे जानकारी नै नभई बालिका किशोरी हुन्छिन्, आमा बन्छिन्, ‘मेनोपोज’ हुन्छ र उनी वृद्धा बन्छिन् ।

उनी आजीवन यौनसम्बद्ध मानवअधिकारबाट वञ्चित हुन्छिन् ।
पुरुष ‘यौन चरम सुख’ हासिल गरिरहेको हुन्छ, हासिल गर्नपाएन भने श्रीमती बदलिरहन्छ तर महिलालाई यसका बारेमा जानकारी नै हुँदैन, आनन्दको कुरै रहेन । निष्कर्षमा यौनको मूल्य महिला र पुरुषमा भिन्न हुनेभयो । मूल्यमीमांसाले यही भन्छ– कुनै वस्तुबाट अनुभूत गरिने सुख, लाभ र सन्तुष्टि नै मूल्य हो । नेपाली महिलाका लागि यौनको मूल्य जति छ, पुरुषका लागि त्योभन्दा निकै बढी छ, किनभने ऊ हरेक पटक यौन चरमसुख प्राप्त गरिरहेको हुन्छ, जबकि अधिकांश महिलाका लागि यो विनाकामको सिकसिको मात्र सावित हुन्छ ।

यही तथ्यलाई विश्लेषण गर्ने हिन्दी चलचित्र ‘भीरे दी वेइडिङ’ नेपाली हलहरुमा चलिरहेको छ । चार महिला यौन सम्पर्कबाट यसको मूल्य बढाउने प्रयासमा लागिरहेका छन् । यौन प्राणी–जीवनको अभिन्य सत्य हो जसले जीवनलाई सफल वा असफल बनाउन र मानवअधिकारको पूर्ण सदुपयोग गर्न सघाउँछ । यस यथार्थ स्वीकार गर्ने अधिकारकर्मीले छोरा–छोरीहरुलाई ‘भीरे दी वेइडिङ’ हेर्न खर्च दिएर हलतिर पठाइदिए हुन्छ ।

प्रतिक्रिया दिनुहोस्