टीकालाई संगीतप्रेमीको साथ



दर्शकले खचाखच भरिएको हलमा वाद्यवादन समूहका साथ एकल साँझमा प्रस्तुत भए गायक तथा संगीतकार, टीका बोम्जन। पहिलो प्रस्तुतिस्वरूप राष्ट्रिय भावनाले ओतप्रोत माटोले माग्दैन आफैंले दिनुपर्छ बोलको गीत गाएपछि दर्शक दीर्घामा रहेका कामु प्रधानसेनापति पूर्णचन्द्र थापा मञ्चमा उक्लिए अनि टीकालाई धाप मार्दै एकछिन् साउती मारे। ‘कामु प्रधानसेनापतिज्यूले मेरो स्वर र संगीतको प्रशंसा गर्दै बधाई दिनुभयो’ –टीकाले सुनाए।

भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हालै सम्पन्न टीका बोम्जन एकल साँझ–२०७५ मा दर्शकको बाक्लो उपस्थितिका बीच टीकाले आफ्ना गीत संगीत प्रस्तुत गरेर भरपुर सांगीतिक आनन्द दिलाए। उनको प्रस्तुति हेर्न केही दिनअघि मात्र सडक दुर्घटनामा परी उपचार गराइरहेका गायक शिव परियार बैशाखी टेकेर कार्यक्रममा पुगे।

नेपाली सेनामा कार्यरत टीकाले २०५९ सालमा नगरकोटस्थित रिपिटर टावरको पोस्ट मर्मत गर्ने क्रममा लडेर हाइभोल्टेज करेन्टमा परी उपचारका क्रममा दुवै हात गुमाउनुपरेको थियो। ‘२१ वर्षको उमेरमा मैले दुवै कर्मठ हात गुमाए पनि आज सयौं हातको साथ पाएको छु’ –उनले भने।

हिमालय नेपाली इभेन्ट्स प्रालिको आयोजनामा भएको कार्यक्रममा टीकाले बार प्रिये बार, तिमी मेरै, झरना पानी, यो देशलाई, सैलुङे गाउँकी, मैलेभन्दा माया दिने बोलका गीत प्रस्तुत गरेका थिए। पवनवाङ लामाको ब्यान्ड संयोजनमा तबलामा कुमार महाराज र भुवन गन्धर्व, लिड गीतारमा देवासिस मोक्तान, बेस गीतारमा अनुप दास, बाँसुरीमा गोपालदेव घतानी, किबोर्डमा रूपमसिंङ गुरुङ, अक्टोप्याडमा रूपेशसिंह गुरुङले टीकालाई वाद्यवादनमा साथ दिएका थिए।

कार्यक्रममा दुर्गा परियार, इन्दिरा गोले, सुरेश लामा, अनिल लामालगायतका गायकगायिकाले टीकाद्वारा संगीतबद्ध गीत गाएका थिए भने भीमफेंदी गाइजले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएको थियो।

प्रतिक्रिया दिनुहोस्