बहर दाएर खेत साउने सपना



-मुक्तिबन्धु
रम्तेल काकाका पखेरो धेर,ै आयस्ता कम । पहाडका पाखापखेरोमा सिन्चाइको व्यवस्था त्यतिवेला पनि थिएन । “भर्खरै दाएका छिटा छरिता गोरु हुनु र असामा खेत साउन पाउनुमा जो मज्जा छ त्यो चौरासी व्यन्जनमा पनि छैन ।” रम्तेल काका हौसिँदै भन्थे, “मलाई आफ्नै खेत चाहिन्छ भन्ने छैन , गोरु दगुराएर खेत साउन पाए पुग्छ । हो मलाई बुढा गोरु चाहिँ मन पर्दैनन् । मेरो विचारमा बुढा गोरुलाई साउने कामबाट विश्राम दिनुपर्छ ।”

रम्तेल काका हाम्रा आजका शीर्ष राजनेताहरु जस्ता पढालिखा सुसंस्कृत व्यक्तित्व थिएनन् । देशदेशावर चाहारेका पनि थिएनन् । तर पनि उनी जीवनमा नयाँ नयाँ कलकारखाना र प्रसस्त साधन सम्पन्नता उत्पादनका पक्षधर थिए । नयाँ नयाँ वृक्षरोपण र वागवानीका पक्षधर थिए । पालुवा र हरियालीका पक्षधर थिए । बहर र कोरलीका पक्षधर थिए ।

निरन्तर अग्रगामी सोचसमझका सिर्जनशील किसान थिए उनी । यसैले बिनसित्ती ओगटीबस्ने बुढा गोरुहरुसँग उनी सहमत थिएनन् । उनी जहिले पनि नयाँ नयाँ बहर दाएर खेत साएको सपना देख्थे ।

रम्तेल काका हामी युवाहरुलाई भन्थे, “साँच्चिकै राम्रो गर्ने हो भने खेतीमा गहिरोगरी कोदाली चलाउन र चपरी फर्काउन सक्नुपर्छ । नत्र झार उम्रन्छ । झारले ढाकेपछि बालीका बोटबिरुवाहरु हलक्क बढ्न र राम्ररी फुल्न फल्न सक्दैनन् ।

तिमीहरु समाज बदल्ने भन्छौ, परम्परागत समाजलाई साँच्चासाँच्चि बदल्न पनि गहिरो खनेर यथास्थितिको चपरी फर्काउन सक्नुपर्छ । नत्र त यहाँ पनि नानाथरी झारले बाली खान्छ । अनि तिमीहरुको आजको यो त्याग तपस्या बित्थामा खेरो जान पनि सक्छ ।”

मैले नवनिर्वाचनत्रयको समापनपश्चात् राष्ट्रपति र उपराष्ट्रपतिका कुर्सीमा पुरानै महामहिम व्यक्तित्वहरुको पुनर्नियुक्तिपछि रम्तेल काकालाई झलक्क सम्झेँ । वहाँका ओजस्वी मान्यताहरुलाई सम्झेँ । जनताबीच जनसाधारणमा उब्जेको यो नवोन्मेषमय चेत निःसंशय महान् छन् ।

‘हाम्रा शीर्ष राजनेताहरुमा रहेको झारप्रियता रोचक छ, उत्पादक छैन । रोचक किन छ भने बजारमिडियाले गति छाडेर शीर्ष भनिरहँदा पनि वहाँहरु आफ्ना पूर्वसिन्चित मनोविकारहरुबाट किन्चित् पनि बाहिर निस्कन सकिरहनुभएको छैन ।

दुई दल जोडेर फराक बन्ने सङ्कल्प पढेर विधिवत् चुनावमा हेलिनुभएका शीर्षहरुले चुनावमा अपेक्षित सफलतापछि जनताको मनोभावना बुझेर अरु वाम तथा देशभक्तहरुप्रति स्नेह र सम्मानको व्यवहार दर्शाउन सक्नुभएन । चुनावी राजनीतिमै रहेका मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे जस्ता पुरुष र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीजस्ता राष्ट्रिय पहिचानका महिला कसैलाई राष्ट्रपति र उपराष्ट्रपति बनाउन सक्नुभएन ।

यतिसम्म साँगुरिनुको साटो अलि माथि उठेर फराकिलो व्यवहार गर्दा शीर्षहरुको उँचाइ नै थपिन्थ्यो कि ?” यस विषयमा जनतामा यत्रतत्र चर्चा चलेको पनि सुनियो-“नयाँ अभियानको आरम्भ नयाँ भएन । प्रथमग्रासे मक्षिकापातः । मुलुकमा आवश्यक येग्यता र क्षमताका उपयुक्त व्यक्तित्वहरुको भयङ्कर खडेरी परेजस्तो !” शीर्ष कानहरुमा यी यस्ता चर्चाहरु पुग्छन्, पुग्दैनन्, थाहा छैन ।

लाग्छ, पुरानै सोच समझ र शैलीबाट नयाँ उन्नयन अभियानको गीत घन्काउनेहरुका धोद्रे स्वरसन्धानमाथि विश्वास गरेर लट्ठ पर्नु पनि गोरुगाडा चढेर सगरमाथा आरोहण गर्न तम्सने नयाँ सोम शर्माको चुरीफुरीमाथि विश्वास गरेर मक्ख पर्नुजस्तै जस्तै त होइन ?

यथार्थ जेसुकै होस्, विश्वास गर्ने सवालमा हामी नेपालीहरु इतिहासदेखि नै सतीसाध्वी नै रहिआएका छौं । हामीले गिरिजाप्रसाददेखि शेरबहादुरसम्मका कथित काँग्रेसी नेताहरुमाथि पनि विश्वास गरिआयौं ।

एक पटक होइन, अनेकौं पटक विश्वास गरिआयौं । गिरिजा कोइराला र शेरबहादुर देउपालाई पटक पटक प्रधानमन्त्री बनाउँदै आएका हामी यस पटक केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर नितान्त नयाँ कदमको अनुभूति उग्राइरहेका छौं । यसैबीच हामीले पुरानै राष्ट्रपति र उपराष्ट्रपतिलाई सहज रुपमा नयाँ गद्दीमा आसीन पायौं ।

कतिले यसलाई ‘नयाँ सीसीमा पुरानै रक्सीबाट अभिसिन्चन आरम्भ’ भनेर ओठ लेब्¥याएकाछन् भने कतिले ‘दुइटा कुर्सीमा एक एक थान नरनारी महामहिम चाहिन्थे, औपचारिकता पूरा भएको छ’ भनेर चित्त बुझाए । ‘जो भए पनि हामी जनतालाई के फरक पर्छ र ? बेला कुबेला चलाइने महामहिम सवारीको तडकभडकले गन्तव्यगमन रोकिँदा राणाशासन र शाही शासनको सम्झना गरेर कुँडिनुसम्म नै त हो’ भन्दै धेरैले त कैकयीकालीन बृद्धा दासी मन्थराको गीत दोहो¥याए—“कोइ नृप होई हमें का हानि , चेरी छोडी नहोइवे रानी ः!”

लोकतन्त्रमा यी यस्ता मन्थरावादी गायन खुसीको कुरा होइन, न त अहिले आएर पुनः त्यही पन्चतन्त्रको सोमशर्मालाई स्मरण गर्न वाध्य भइनु जनताका लागि रमाइलो कुरा हो ।
रम्तेल काका उमेरले अहिले दशौं दशकको पनि पूर्वाद्र्ध पार गरिसकेका छन् । यस उमेरमा पनि समयसचेत रहन सक्नु उनको विशिष्टता बनेको छ । उनी भन्छन्, ‘राष्ट्रपति उपराष्ट्रपति जे जसरी पदासीन गराइएका भए पनि ती परम्परागत मूल्य मान्यताका महाराज महारानी होइनन् । निरङ्कुश शासक होइनन् ।

तिनले परम्परागत महाराज महारानीका ठानमान रवाफमा जात्रामात्रा मन्दिर पूजाआजा आदिमा प्रस्तुत हुँदा वादेशी विदेशी धार्मिक समारोहमा अतिथि बनेर गीता वा बाइबिल बाँड्दा आजका राजनीतिसचेत जनतामा ती महामहिमहरुप्रति आदर सम्मानभाव बढ्दैन । घृणा र वाकवाकी बढ्छ । धर्मनिरपेक्ष्य गणतान्त्रिक लोकतन्त्रमा सम्बिधानका आधारमा बनेका राष्ट्रपति उपराष्ट्रपतिले आफ्नो सादगी, शिष्टता, कर्तव्यनिष्ठता, असाधारण ज्ञान गुण र सेवाशीलताबाट जनताको मन जित्न सक्नुपर्छ ।

अन्यथा सडकदेखि सदनसम्म थरी थरीका आलोचना र टिप्पणीहरु सुन्नु पर्ने हुन्छ । बुढापाकाहरु भन्थे—“स्थानभ्रष्टाः नशोभन्ते दन्ताः केशा नखा नराः अर्थात् दाँत, केश, नङ, र मान्छे ठाउँ छोडेर कुठाउँमा उम्रँदा राम्रो देखिँदैन ।”

पदमा पुगेको उन्मादमा आफ्नो धरातल बिर्सनु जसकसैका लागि पनि श्रेयस्कर हुँदैन । यससम्बन्धमा पनि हाम्रा पुर्खाहरुको धारणा यस्तो थियो —

“विवेकः सह सम्पत्या विनयो विद्यया सह
प्रभुत्वं प्रश्रयोपेतं चिन्हमेतन्महात्मनाम् ।
अर्थात् सम्पत्ति भएर पनि विवेकशील हुनु, विद्या भएर पनि विनम्र हुनु, अग्ला पदमा विराजमान भएर पनि जनताका अगाडि पस्रेर व्यवहार गर्न तत्पर रहनु महान्व्यक्तित्वको लक्षण हो ।”

हाम्रा उच्च पदासीन बडे बडे पुरुष एवम् महिलाहरुलाई पुर्खाका यी भनाइले असर नपार्ला तर पनि ‘सम्पत्ति कमाएपछि विवेक गुमाउनू, विद्या कमाएपछि घमण्डी बन्नू, उच्चपदमा पुगेपछि जनतालाई भुसुना ठान्नू र कुल्चँदै माड्दै हिँड्नू’ भन्ने नीति नियम सम्मानित संसदबाट पारित भएर कानुन नबन्दासम्म जनसामान्यहरु परम्परागत जानकारी र बुझाइकै आधारमा धारणा बनाएर हेर्छन् । समस्या यो पनि छ ।

जहाँसम्म संसदमा गरिने सम्बोधन क्रममा राष्टपतिको तामझाममय राजकीय सवारीको कुरा छ छिमेकी मुलुक भारतमा २६जनवरीजस्ता खास दिनमा विशेष भव्यताका साथ राष्टपतिको सवारी सन्चालन देखेर हाम्रा सरकारप्रमुखलाई पनि रङ्ग चढेको हुन सक्छ । भारत सामन्ती राजतन्त्रबाट आन्दोलन गरेर लोकतन्त्रमा आएको देश होइन । विदेशी उपनिवेशबाट स्वाधीन भएर स्वराजमा आएको देश हो ।

भारतमा राष्टप्रमुख छान्दा सत्तासीन पार्टी र शीर्ष राजनेता वा मन्त्री प्रधानमन्त्री कसैको इच्छा र निकटता मात्र हेरिदैन, व्यक्तिको त्याग, तपस्या, विद्वत्ता र प्रौढता पनि हेरिन्छ । जसले गर्दा पदासीन व्यक्तित्वको गरिमाप्रति पक्षविपक्ष सबैको आदर सम्मान स्वाभाविक बनिदिन्छ । हाम्रो अवस्था फरक हो । हाम्रो मनोविज्ञान फरक हो ।

वर्षौदेखि सामन्ती राजनीतिक संस्कृतिपीडित हामी तत्तत्कालीन राजा महाराजाका सवारीको तामझाम र सडकजामबाट वाक्कदिक्क भएर जनताकै वेषभूषा र सहजतामा जनतासँग हातेमालो गरेर हिँड्न सक्ने, बेला मौका सार्वजनिक सवारीमा पनि चढ्न सक्ने, सहज, सुलभ हुनुका साथै त्याग, तपस्या, योग्यता र क्षमताका कारण जनआस्था र सम्मानका पात्र बन्न सक्ने आदरणीय पूमुख उपप्रमुख व्यक्तित्वहरु हाम्रा सपना र प्रतीक्षा हुन् ।

हामीलाई राष्टपति उपराष्टपति प्रधानमन्त्री, मन्त्री कसैको पनि तामझाम रोब रवाफ हेपाहा मिचाहा शैलीको सवारी, समारोह मन पर्दैन । हामीलाई लाग्छ लोकतान्त्रिक गणतन्त्रमा हामी जनताले पनि आफ्नो कानुनसम्मत गुजाराको लागि आवश्यकतानुसार हिँड्न परेको बाटो निर्वाध रुपमा हिँड्न पाउनुपर्छ, पुग्न पर्ने ठाउँमा समयमा पुग्न पाउनुपर्छ ।

यो हाम्रो मानव अधिकार पनि हो । सत्तासीनहरुको आँधीबेहरी सवारी लस्करबाट अनायास हाम्रो बाटो छेकिन्छ र हामी समयमा अपेक्षित ठाउँमा पुग्न पाउँदैनौं भने त्यसलाई हामी हाम्रोे मानव अधिकारमाथि ठाडो अतिक्रमण ठान्छौं ? अधिकार अतिक्रमण हुँदा हामी जनताले आक्रोषित हुन पाउने कि नपाउने ?’

कुराको बिट मार्दैं रम्तेल काका भन्छन्, ‘हुन त यो सबै हामी जनताले विद्रोह वा आन्दोलनका क्रममा राजनीतिक, आर्थिक र सांस्कृतिक यथास्थितिका चपरीहरु राम्रोसित फर्काउन नसक्नुको परिणाम हो । मलाई त बहर गोरु दाएर खेत साउनेजस्ता हिजोका आफ्नै सपना सम्झँदा आज मनै खिस्रिक्क हुन्छ । बुढाका मनमा रहेका तन्देरी सपना अव के काम ? तन्नेरी सपना अव तन्नेरीहरुले देख्नसक्नुपर्छ । हैन र ?’

प्रतिक्रिया दिनुहोस्