नेपाललाई थप अन्तर्राष्ट्रिय हवाई रुट प्राप्त



दीपेन्द्र थापा, काठमाडौं ।
नेपाललाई थप अन्तर्राष्ट्रिय हवाई रुट दिन भारत सहमत भएको छ । दुई दिनसम्म भएको छलफलका क्रममा भारतले जनकपुर, विराटनगर हवाई रुट प्रदान गर्न सहमत भएको हो ।

नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय उडानका लागि थप रुट माग गर्दै आएको थियो । सन् २०१६ मा नेपाल र भारतबीच भएको सम्झौता अनुरुप थप हवाई रुटका विषयमा दुवै देशका अधिकारीबीच काठमाडौंमा छलफल भएको थियो ।

भारतले जनकपुर र विराटनगरबाट हवाई रुट परमिट दिने सहमति भएको नेपाल नागरिक उड्डयन प्रााधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो । दुवै पक्षबीच भएको सहमतिअनुसार नेपालले विराटनगर र जनकपुर रुटलाई दुईतर्फी बनाइने भएको छ ।

यसका लागि प्राधिकरणले जुलाईसम्म सेप्टी एसिस्मेन्टको आधारमा नै रुटको तय हुने र सेप्टेम्बरसम्ममा कार्यान्वनको लागि भारतीय पक्षलाई बुझाउने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताउनुभयो ।

यस्तै पश्चिमतर्फ महेन्द्रनगर हु“दै कम उचाइमा उड्ने वायुयानको लागि मौजुदा काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन सो क्षेत्रको उडान सुरक्षा मूल्यांकन गरी लागू गर्ने पनि सहमति भएको प्राधिकरणले जानकारी दिएको छ ।

निर्माणाधीन गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाईमा उड्ने अन्तर्राष्ट्रिय उडानका लागि पश्चिममा नेपालगन्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा २०१८ को सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमतिमा भएको छ ।

छलफलमा नेपालका तर्फबाट नागरिक उड्डयन प्राधिकरणका एयर नेभिगेसन उपमहानिर्देशक नरेन्द्रबहादुर थापाको टोली र भारतीय एयर नेभिगेसन प्रमुख एके दत्तको टोलीे सहभागी थियो ।

दुई पक्षबीच भएको सहमतिका आधारमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) मा पठाइने र त्यहाँबाट अनुमति दिएपछि रुट परमिट लागू हुने पोखरेलले बताउनुभयो ।

यो सहमतिले नेपाल र भारतबीच सीमापार उडानलाई सहयोग पुग्ने प्राधिकरणका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यस्तै नेपाली तथा भारतीय पक्षबीच एयर नेभिगेसन सेवाको विविध प्राविधिक विषयमा सहयोग आदानप्रदान गर्न उच्च तहमा प्राविधिक सहयोग गर्ने सहमति भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

भारत हु“दै नेपाल प्रवेशका लागि हालसम्म बाराको सिमरा रुट मात्र प्रयोग गर्दै आएको छ । यसअघि नेपालले हिमालय रुट २ को माग गरे पनि अहिले भएको छलफल र सहमति त्यो रुट भन्दा फरक रहेको उपमहानिर्देशक पोखरेलले बताउनुुभयो ।

भारतको कलकत्ताबाट आउने विमानले रोमियो ३३६,र पश्चिमा देशबाट आउने विमानले सेरा माइक्रो रोमिया गल्फ ३३६ हवाई रुट प्रयोग गर्दै नेपाल प्रवेश विन्दू गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्