ढिस्को खसेर अरुण तेस्रोको सुरुङ खन्ने ४ मजदुरको मृत्यु



संखुवासभा, अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ ।

नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताउनुभयो ।

ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको मृत्यु भएको हो । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर विद्युत् मिस्त्री थिए ।

घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक सारुमगरले बताउनुभयो । ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थलमा लगिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्