अर्जेन्टिना र मेसीको परीक्षा



समूह ‘डी’ ग्रुप अफ डेथको रूपमा रहेको बताइँदै आएको छ। हुन त समूह ‘बी’ मा पोर्चुगल र स्पेन एकै समूहमा छन् तर अन्य टिमको तुलनामा यो दुई टिम दोस्रो चरणमा सजिलै जाने अनुमान गरिएको छ। यसै कारणले अन्य समूहको तुलनामा समूह ‘डी’ लाई ‘गु्रप अफ डेथ’ मान्न सकिन्छ।

आइसल्यान्ड, क्रोसिया र नाइजेरियाले दुईपटकको विश्व विजेता अर्जेन्टिनालाई कडा टक्कर दिनेछन्। पहिलोपटक विश्वकपममा छनोट भएको आइसल्यान्डको अन्तिम १६ मा जाने सम्भावना छैन भनेर यसै भन्न सकिँदैन। क्रोसियालाई विश्व फुटबलको ‘डार्क हर्स’ को रूपमा लिइन्छ। यद्यपि यो समूहमा अर्जेन्टिना र क्रोसियाबीच नै मुख्य लडाइँ हुने अनुमान गरिएको छ। धेरैले अर्जेन्टिना सहजै समूह विजेता भएर अन्तिम १६ मा स्थान पक्का गर्ने अनुमान गरेका छन्।

अर्जेन्टिना

विश्वकप यात्रा

अर्जेन्टिनाले निकै कठिन परिस्थितिमा गुज्रिएर रसिया विश्वकपको टिकट काटेको थियो। दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना अन्तिम खेलमा जित हात पार्दै विश्वकपमा छनोट भएको हो। अन्तिम खेलमा इक्वेडरलाई ३–१ ले हराएर पेरूलाई प्लेअफमा पठाउँदै अर्जेन्टिना रसिया विश्वकपमा सोझै छनोट भएको हो। छनोट चरणमा संघर्षपूर्ण यात्रा तय गरेर रसिया पुगे पनि अर्जेन्टिनाले आफ्नो खेलमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ। स्टार खेलाडीले भरिएको अर्जेन्टिनाको पछिल्ला प्रदर्शनले दर्शकलाई निकै निराश बनाएको थियो।

मुख्यतः लियोनेल मेसीमाथि भर पर्दा टिमका अन्य खेलाडीको प्रदर्शन ओझेलमा पनि परेको छ। आफ्नो क्षमताअनुसार प्रदर्शन गरे अर्जेन्टिना यस समूहबाट सजिलै दोस्रो चरणमा पुग्न सक्छ अन्यथा आइसल्यान्ड र नाइजेरियाको ‘सरप्राइज फ्याक्टर’ को शिकार अर्जेन्टिना हुन सक्दछ।

म्यानेजर
जोर्ज सम्पोलीले ब्राजिल विश्वकपमा चिलीलाई २०१४ मा नकआउट चरणमा पुराएका थिए। तिनै सम्पोलीले २०१८ को विश्वकपमा अर्जेन्टिनाको नेतृत्व गर्दै छन्। २०१४ को विश्वकपपछि तेस्रो प्रशिक्षकका रूपमा सम्पोेलीले अर्जेन्टिनाको लामो समयदेखिको उपाधि भोक पूरा गर्ने अभियानमा छन्।

महत्वपूर्ण खेलाडी
अर्जेन्टिनाका क्याप्टेन लियोनल मेसी सर्वकालीन फुटबलरमध्ये उत्कृष्ट खेलाडी हुन्। उनी अर्जेन्टिनाको मुख्य हतियारसमेत हुन्। उनले विश्वकप छनोट चरणमा ७ गोल गरेका थिए। अर्जेन्टिना विश्वकपमा छनोट हुने वा नहुने दोधार रहेका बेला उनै मेसीले नै इक्वेडरविरुद्ध ३ गोल गरेका थिए। अर्जेन्टिनालाई विश्वकप दिलाएर अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिने तरखरमा छन् उनी। यो अभियानमा उनलाई आक्रमणमा पाउलो डिबाला, गोन्जालो हिगुइन र सर्जियो अग्युरोले साथ दिनेछन्।

पछिल्लो विश्वकप ः
उपविजेता, ब्राजिल २०१४
उत्कृष्ट प्रर्दशनः
विश्वविजेता, १९७८ र १९८६
म्यानेजरः
जोर्ज साम्पोली
हालको फिफा वरियताः ५
सम्भावित फर्मेसन ः ४–३–३

आइसल्यान्ड

पछिल्लो विश्वकप
पहिलो सहभागिता
उत्कृष्ट प्रर्दशन
पहिलो सहभागिता
म्यानेजर ः हेइमिर हलगिमसन
क्याप्टेन ः आर्न गुन्नर्सन
हालको फिफा वरीयता ः २२
सम्भावित फर्मेसन ः ४–४–२

विश्वकप यात्रा
युरोपियन क्षेत्रको समूह ‘आई’ को शीर्ष स्थानमा रहँदै आइसल्यान्डले विश्वकप यात्रा तय गरेको हो। क्रोसिया र टर्कीलाई पछि पार्दै आइसल्यान्ड समूह विजेता भएको थियो। त्यस क्रममा आइसल्यान्डले १८ खेलमा ३ खेल मात्रै हारेको थियो। गत युरोकपमा इंग्ल्यान्ड र अस्ट्रियालाई पराजित गरेर क्वार्टरफाइनलसम्म पुगेको आइसल्यान्ड ठूलो ‘सरप्राइज’ दिने क्षमता राख्ने टिम हो। युरोपको थोरै जनसंख्या भएको यो देशले आगामी विश्वकपमा पनि ठूलो उलटफेर ल्याउने अनुमान सबैले गरेका छन्।

म्यानेजर
हेइमिर हलगिमसन त्यस्ता प्रशिक्षक हुन्, जसले आइसल्यान्डलाई इतिहासमै पहिलोपटक विश्वकपमा छनोट गराए। आइसल्यान्ड विश्वकप खेल्ने सबैभन्दा कम जनसंख्या भएको देश हो। यो देशको जनसंख्या करिब ३ लाख ५० हजार मात्रै छ।

महत्वपूर्ण खेलाडी
आर्न गनुर्सन आइसल्यान्डको पहिलो विश्वकप उपस्थितिमा टिमको नेतृत्वकर्ता हुन्। उनीसामु आइसल्यान्डलाई अन्तिम १६ मा स्थान बनाउन उत्कृष्ट प्रदर्शन गर्ने जिम्मेबारी छ। यस्तै गिल्फी सिगडर्सन आइसल्यान्डका अनुभवी मिडफिल्डर हुन्। उनी इंग्लिस प्रिमियर लिगमा विगत ५ वर्षदेखि खेलिरहेका छन्। उनले ५५ अन्तर्राष्ट्रिय म्याचमा १८ गोल गरिसकेका छन्। बर्नेलीका विंगर जोहानवर्ग क्षमतावान् खेलाडी हुन्। उनले पनि विश्वकपमा प्रभावशाली प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्