उत्तर कोरियाली जनरललाई ट्रम्पको स्यालुट विवादमा



वासिङटन (एजेन्सी)
उत्तर कोरियाको सरकारी टेलिभिजन च्यानलमा प्रसारित एक फुटेजले अमेरिकामा विवाद शुरु भएको छ । फुटेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका एक सैन्य जनरललाई स्यालुट गरिरहेको देखिएका थिए । उक्त फुटेज यसै हप्ता सिंगापुरमा भएको ट्रम्प किमको ऐतिहासिक शिखर वार्ताका क्रममा खिचिएको थियो ।

टीभी फुटेजमा उत्तर कोरियाली नेता किम जोङ उन आफना सैन्य जनरल नो क्वांग चोलको परिचय ट्रम्पलाई दिइरहेका थिए । ट्रम्पले सैन्य वर्दी लगाएका जनरलसँग हात मिलाउनका लागि आफनो हात बढाए तर जनरलले हात नमिलाएर ट्रम्पलाई स्यालुट गरेका थिए ।

त्यस्को लगत्तै ट्रम्पले पनि उत्तर कोरियाली सैन्य जनरललाई स्यालुट गरेका थिए । यद्यपी स्यालुट गरेपछि ट्रम्प र जनरलले हात पनि मिलाएका थिए ।

टेलिभिजन फुटेज हेरेपछि अमेरिकाका सैन्य विशेषज्ञहरुले ट्रम्प उत्तर कोरियाली तानासाहको हातबाट खेलाइएको बताएको छ । उत्तर कोरियाले सिंगापुर शिखरवार्तामा आफ्नो नेताको बलियो छवी देखाउने उद्देस्यले उक्त फुटेज प्रसारित गरेको विज्ञहरुले बताएका छन् । उत्तर कोरियाली सन्चार माध्यमले सिंगापुर शिखर वार्ताबाट देशलाई भएका फाइदालाई ब्यापक प्रचार गरिरहेको छ । अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्ने र प्रतिबन्ध खुकुलो गर्ने सहमतिलाई विशेष जोड दिइएको छ ।

सिंगापुर शिखर सम्मेलनपछि ट्रम्पले आफनो देशमा आलोचना खेप्नु परिरहेको छ । परमाणु निसस्त्रिकरणको आश्वासनको बदलामा ट्रम्पले धेरै दिएर आएको उमाथि आरोप लागेको छ ।

विहिबार अमेरिकी सन्चार माध्यमको एक तप्काले सिंगापुर शिखर सम्मेलनमा भएका सम्झौतालाई कमजोर पार्ने प्रयास गरिरहेको ट्रम्पले आरोप लगाएका थिए । यसैबीच अमेरिकाले विहिबार औपचारिक रुपमा घोषणा गर्दै दक्षिण कोरियासँग हुने भनिएको सैन्य युद्ध अभ्यास अनिश्चितकालका लागि निलम्बित गरिएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्