मंगलग्रहमा आँधीका कारण अपच्र्युनिटी रोवर बन्द



नासा (एजेन्सी)
मंगलग्रहमा धुलोयुक्त भिषण आँधीहुरी चलेपछि नासाको अपच्र्युनिटी रोवर बन्द हुन पुगेको छ । सौर्य उर्जाबाट चल्ने उक्त मानवरहित यान सटडाउन मोडमा गएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । हाल यसको सबै प्रणाली अफलाइन भएकोले यसको अस्तित्वलाई लिएर चिन्ता बढेको एजेन्सीले बताएको छ ।

अकस्मात धुलोयुक्त तिब्र गतिको आँधी आएपछि रातो ग्रहमा सुर्यको किरण छिर्न नसकेको नासाले बताए । उक्त धुलोयुक्त आँधी १ करोड ४० लाख बर्ग माइल क्षेत्रफलमा फैलिएको बताइएको छ । यो करिब अमेरिकाको क्षेत्रफलसँग बराबर छ ।

नासाको जेट प्रपल्सन ल्याबोरोटरीमा अपच्र्युनिटीका परियोजना प्रबन्धक जोन कोलासले अपच्र्युनिटी पछिल्लो पटक परसिवरेन्स भ्याली नामक स्थानमा देखिएको जानकारी दिए । उनले भने – अपच्र्युनिटी सटडाउनमा गएको छ । हामी आँधी रोक्ने पर्खाइमा छौं ।

हामी सबैलाई आँधी रोकिएपछि पनि रोवर हाम्रो सम्पर्कमा आउन सक्छ वा सक्दैन भन्ने विषयमा चिन्ता छ – उनले बताए । मंगलग्रहमा मे ३० बाटै आँधी आएको थाहा भएको थियो । तर हालैका दिनमा त्यसले भिषण रुप लिएको हो ।

उक्त रोबोटिक यानसँग पछिल्लो पटक जुन १० मा सम्पर्क भएको थियो । मंगल ग्रहमा जीव अस्तित्व पत्ता लगाउन अपच्र्युनिटी र स्पिरिट नामक दुई रोबोटिक यानलाई सन् २००३ मा प्रक्षपित गरिउको थियो । त्यसको एक बर्षपछि मंगल ग्रहको धर्तिमा सफल अवतरण गरेका थिए । त्यतिबेलादेखि ती दुई रोवर उक्त रातो ग्रहमा विचरण गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्