मगर समुदायको एक महिने भूमे पर्व सकियो



धनवीर दाहाल, रुकुम ।
मगर समुदायको बिषेश पर्व भुमे पर्वको रौनक महिनापछि शुक्रबार सकिएको छ । हरेक वर्ष खामभाषी मगर समुदायले एक महिनासम्म मनाउँने भूमे पर्व विधिवत समापन भएको छ । रुकुम रोल्पाका खामभाषी समुदायको भूमे पर्व सवैभन्दा ठुलो पर्व हो ।

रुकुम पूर्वको सिस्ने, पुथा उत्तरगंगा, र भूमे गाउँपालिकामा रहेका आदिबासी जनजातीहरुले, मुख्यतः खाम मगर जातिले विशेष महत्वका साथ मनाउने बल पूजा अर्थात भूमि पूजाको यो पर्वले मगरका साथै अन्य जातजातिलाई पनि रमाइलो बनाउने गर्दछ । रुकुम पुर्वका हुकाम, मैकोट, तकसेरा, कोल, राङ्सी, काँक्री, महत तथा रुकुम पश्चिममा समेत यो पर्वले बिशेष महत्व पाएको छ । जेठको १ गतेदेखि सुरु भएको यो पर्व असारको १ गते समापन गरिन्छ ।

मगर समुदायको मौलिक पहिचान वोकेको भूमे नाच वर्षको एकपटक एक महिनासम्म आफ्नै कला, पहिचान र रहनसहन झल्कने प्रस्तुतिहरु प्रदर्शन गर्छन् । भूमे पर्व मनाउँन घर वाहिर गएरहरु पनि यतिवेला घर आउँने गर्छन् । यस समुदायले दशैं तिहार भन्दा पनि भूमे पर्वलाई ठूलो महत्व दिन्छन् ।

पछिल्लो पिढिहरुमा मौलिक संस्कृत तथा परम्पराप्रति चिन्ता र चासो हराउन थालेको भन्दै आफ्नो संस्कृतिको संरक्षण, संवद्र्धन एवं प्रचार प्रसार कम हुँदै गएकोमा वुढापाकाहरु चिन्तित छन् । यस पर्वमा प्रत्येक दिन जम्मा भएर स्थानीयहरु एकैसाथ नाचगान गर्ने गर्छन् ।

नाचमा महिलाहरुले गुन्नी, चोली, पटुका, गादा, पछ्यौरी,र पुराना खालका गरगहनाहरु लगाएर नाच्ने गर्दछन् । पुरुषहरुले चौवन्दी, पाखीको पटुका, फेटा, गादा, ढाँका टोपी लगाई कम्मरमा खुकुरी भिरेर नाच्छन् । भुमे पुजा नगरिएमा भुम्या देवता रिसाएर अनिष्ठ हुने, बालीनाली उत्पादन नहुने, वाढी पहिरोले क्षति पुर्याउँने हुँदा यसलाई रोक्नको लागि जमिन अर्थात भूमिको पुजा गर्ने गरिएको स्थानीय भिउमान घर्तिले वताए ।
प्राकृितक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्व रहेको उनको भनाई छ । विभिन्न विधि पुर्याएर भूमे देवतालाई भेडाको वली चढाइन्छ । भुमे पर्वलाई अन्त्य गर्नु भन्दा एक दिनअघि अग्लो लेकमा गएर पन्थी देवतालाई ध्वाजा र धुप जलाइन्छ ।

त्यसै ठाउँमा फुलेका ल्याएर वलीलाई सिंगारपटार गरि बलि चढाई पर्व दिइन्छ । जेठ १ देखी असार १ गतेसम्म रुकुम पुर्व र रुकुम पश्चिमका खाम मगर जातिले मौलिक पोशाक पहिरिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा छ ।

भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नाश भई पृथ्बीबासी सबैमा खुसी आउने जनविश्वासका कारण सदियौंदेखि भूमि पुजा गरेर देवतालाई खुसी बनाउने गरेको लाङघाली सेवा समाजका अध्यक्ष भागिन्त बुढाले बताए ।

रुकुम पश्चिमको सदरमुकाम खलंगाको सहिद मैदान, पातुखोला लगायतका स्थानमा रुकुम पूर्वका विभिन्न भागबाट बसाईसराई गरी आएका झण्डै ३ सय घरधुरी खाम मगरको वस्ती छ । यो क्षेत्रका सबै मगरहरुले संगै भेला भएर रमाइलो गर्दा आफुहरुले दुःख पिर बिर्सने र मन खुसी हुने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्