छिमेकी मुलुकबाट भित्रिने हाइब्रिड धानमा समस्या, स्थानीय जात लोप हुँदै



ललितपुर । धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् ।
छिमेकी मुलुकबाट भित्रिने हाइब्रिड धानको बीउ यहाँको हावापानी र माटो अनुकूल नहुँदा बर्षेनी फरक–फरक समस्या आउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि विज्ञान महाशाखाले जनाएको छ ।

एक वर्ष बोट राम्रो भएर उत्पादन दिएको जात किसानले अर्काे वर्ष पनि एग्रोभेटबाट किन्ने गरेका छन् । एक वर्ष पर्याप्त उत्पादन दिने धानको जातले अर्काे वर्ष नदिन सक्ने महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउछन् ।

“अरू मुलुकबाट आयातित धानको बीउ यहाँका लागि सुहाउँदो नहुन सक्छ,” उनले भने, “समस्या आउन नदिन किसानले राम्रोसँग बुझेर मात्रै धानको बीउ खरिद गर्नुपर्छ ।”
नार्क अन्तर्गतको धान अनुसन्धान कार्यक्रम, हर्दिनाथ र महाशाखाले धानका विभिन्न जातको अनुसन्धान गरेर पर्याप्त उत्पादन लिन सकिने बीउ सिफारिश गरिरेहको छ । हर्दिनाथले तराईका लागि एक÷दुई वटा हाइब्रिड जात सिफारिश गरेको छ ।

उन्नत बीउभन्दा हाइब्रिड चार/पाँच गुणासम्म महँगो पर्छ । पराजुली भन्छन्, “पर्याप्त उत्पादन लिनका लागि महँगो तिर्ने तर उत्पादन कम हुँदा किसान हैरान हुन्छन् ।”

हाइब्रिड जात वर्षेनी फेरिरहनुपर्ने हुँदा किसानले बुझेर मात्रै किन्नुपर्ने उनको सुझाव छ । केही वर्षयता उन्नत र हाइब्रिडको प्रयोग बढ्दा स्थानीय जात लोप हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्