श्री एयरलाइन्सले काठमाडौं–राजविराज उडान गर्ने



काठमाडौं, (नेस)
नीजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौंबाट राजविराज विमानस्थलमा नियमित उडान गर्ने भएको छ । श्री एयलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार कम्पनीले असारको १० गतेबाट हप्ताको ५ दिन नियमित उडान शुरु गर्ने बताउनुभयो । कम्पनीको सी आरजे २०० को ५० सिट क्षमताको विमानबाट आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार नियमित उडान गर्ने भएको हो ।

कम्पनीको उडान सँगै सप्तरी, सिरहा, उदयपुर, सीन्धुली र खोटाङ आसपासका यात्रुहरु प्रत्यक्ष लाभान्वित हुने छन् । अब विराटनगर र जनकपुर जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

पटक पटक वन्द हुँदै आएको राजविराज विमानस्थल गत जेठ १० मा श्री एयरलाइन्सले परिक्षण उडान गरेको थियो भने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको शुभारम्भ गर्नु भएको थियो । विमानस्थल उद्घाटन गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीले राजविराज विमानस्थललाई कार्गो हवको रुपमा विकास गर्ने बताउनु भएको थियो ।

आन्तरिक उडानमा जेट इन्जिनयुक्त जहाज प्रयोग गरिरहेको श्री एयरलाइन्सले राजविराजका लागि असार १ गतेदेखि दैनिक उडान गर्ने तयारी गरेको भए पनि प्रविधीक कारणले ढिलो भएको बताएको छ । स्तरउन्नती गरिएको विमानस्थल अवलोकन गर्न गत महिना कम्पनीका प्रबन्ध निर्देशक सुधीर मित्तल राजविराज पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्