तातोपानी नाका अर्को वर्षदेखि सञ्चालन हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल र चीन जोड्ने पुरानो नाका आगामी वर्षको मे महिनाबाट पुन ः सञ्चालनमा आउने भएको छ । यसका लागि आवश्यक पूर्वाधार चीनले निर्माण गरिरहेकाले एक वर्षपछि सो नाका सञ्चालन हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ ।

‘नेपाले आफ्नो तर्फको सडक बनाएपछि चीनले नाका खुलाउने भएको छ, उहाँले विहीवार सञ्चारकर्मीहरुसँग भन्नुभयो–‘पहिलो चरणमा कार्गो ढुवानीका लागि तातोपानी नाका सञ्चालन हुनेछ ।’ ३ वर्ष अघिको भूकम्प र त्यस लगत्तैको वर्षाले सो नाका, सडक र आसपासको भौतिक पूर्वाधार पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा तिब्बतसँग जोडिएका मुलुकका उत्तरी बस्तीमा तिब्बतबाटै सडक सञ्जाल विस्तार गर्ने द्धिपक्षिय सहमति हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । सडक सञ्जाल नपुगेका बिकट वस्तीमा खाद्यान्न ढुवानी गर्ने उद्देश्यका साथ ‘तिब्बेतियन हाइवे’ सञ्चालन गर्नेबारेमा सहमति हुने उहाँले बताउनुभयो । हिल्सा, रसुवागढी, रिङ, तिप्लापास, हिल्सा, टिंकर, उराईपास लगायतका भेगलाई तिब्बेतियन हाइवेले जोड्न बताइएको छ ।

यससँगै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा रेलवे, उर्जा, कृषि, अन्तरदेशिय प्रसारण लाइन विस्तार, व्यापार, पारवहन लगायतका विषय कार्यान्वयन प्रकृया अघि बढ्ने मन्त्री ज्ञवालीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्