एकै दिन चार जोडीको वालविवाह रोकियो



नेपाल समाचारपत्र, रुकुम
वालवालिकाको संजालले यतिबेला रुकुममा धमाधम आफ्नो उद्देश्यमा रहेर काम गर्न थालेको छ । जरो गाढेर बसेको मुख्य समस्या वालविवाहलाई अन्त्य गर्नको लागी वालसञ्जाल क्रियासिल भएको हो । विवाह रोकथामका लागी जनचेतनामुलक कार्यक्रम तथा घरदैलो गरेपनि नरोकिएपछि विवाह हुनको दिन मन्डवबाटै उठाएर आफन्तको जिम्मा लगाउने सम्मका काम गरिएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन चार जोडीको विवाह रोकिएको छ । जिल्ला स्थित बाल सञ्जालले उमेर नपुगि गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो । चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवकका बीच हुन लागेको विवाहलाई रोकेर बाल सञ्जालले उनीहरुलाई आफन्तको जिम्मा लगाएको वडा नं १२ का वडाध्यक्ष एवं बाल सञ्जाल संरक्षण समितिको अध्यक्ष मनमोहन शाहले जानकारी दिनुभयो ।

यसै गरी यस्तै, वडा नं १४ का १८ बर्षिय युवक र सल्यान ढाकाडामकी १६ वर्षीया किशोरीका बीच भएको विवाह तथा चौरजहारी नगरपालिका– १० का किशोर किशोरीका बीच हुन लागेको विवाह समेत बाल सञ्जालले रोकेर उनीहरुका आफन्तका जिम्मा लगाइएको छ । यस्तै यसैगरी, वडा नं– १३ का १७ बर्षिय युवक र १७ वर्षकै युवतीका बीचको विवाह समेत बाल सञ्जालले रोकेको शाहले बताउनुभयो । उनीहरुले उमेर नपुगेर गरेकोले वडा कार्यालयको रोहवरमा विवाह रोकेर आफन्तको जिम्मा लगाइएको हो ।

“नगरपालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनका लागि बाल सञ्जाललाई सक्रिय पारेका छौँ,” शाहले भन्नुभयो । रुकुमेली समाज विकास केन्द्रले यस क्षेत्रमा विगत दुई वर्षदेखि बाल सञ्जाल मार्फतकार्यक्रम गर्दै आएको छ । रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले वालसंजालको यो अभियानलाई संस्थाले साथ दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्