नेपाल–भारत झगडाको गुँणः ठूटेखोलाको कुलो सदाका लागि बन्द गरिने



कृष्णउदास खनाल, वीरगन्ज ।

नेपाल र भारतका स्थानीयले लामो समय देखि सिचाइका लागी प्रयोग गर्दै आएका ठोरीको ठुटे खोलाको पानीको कुलो बन्द हुने भएको छ ।
यही कुलोका कारण पटकपटक नेपाली र भारतीय पक्षबीच विविाद हुँदै आएको थियो ।

ठोरीको ठुटे खोलामा निर्माण सम्पन्न भैसकेको पक्की पुलबाट कुलोका कारण सवारी सन्चालन गर्न नपाएको भन्दै ठोरी ३ रामनगरमो वडाध्यक्ष सहितको स्थानीयहरुको भेलाले कुलो पुर्ने निर्णय गरेसँगै कुलो सदाका लागि बन्द हुने भएको हो । ठुटेखोलामा पुल सन्चालन गर्न कुलोको निकास बन्द गरिएको थियो।केही दिन अघिमात्र भारतीय पक्षले कुलो सन्चालन हुनुपर्ने माग राखेर विवाद झिकेका थिए।

विवाद समाधान गर्न पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको टोलीले कुलोको स्थलगत अवलोकनका लागि गएको थियो । प्रजिअ पौडेलले एक साता भित्र समस्या समाधानको ठोस उपाय निकाल्ने भनेर आश्वासन दिएको भएपनि दुई साता बित्दा समेत आफुहरुको समस्याको कुनै सुनुवाइ नगरेको भन्दै कुलो बन्द गर्ने निर्णयमा पुगेको वडा नम्बर ३का वडाध्यक्ष सुर्य बहादुर लामाले बताए ।

उनले हाल भारततर्फ लगिएका दुई वटा र नेपाल तर्फ ल्याइएको एउटा गरी तीन वटै सिचाइको कुलो पुर्ने निर्णय गरिएको जानकारी दिदै हाललाई बर्षायाम लागिसकेकाले पुल सन्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए ।रामनगरबासीका लागि सिचाइको बैकल्पिक व्यवस्था खोजिने भन्दै त्यसका लागि आफुले पहल गर्ने आश्वासन समेत दिए ।

नेपाल तर्फ ल्याइएको कुलोबाट मात्रै रामनगर र बुद्धनगरका करिब ३०० बिगाहा भन्दा बढी खेतीयोग्य जमीनमा सिचाइ हुने गरेको स्थानीयहरु बताउंछन् ।

रामनगरका स्थानीयहरुले बि.स.२०२२ सालदेखि सिचाइका लागि सो कुलोको प्रयोग गर्दै आईरहेका थिए ।गत बर्षको बाढीले खेतीयोग्य जमीनमा बालुवा पसेर मर्कामा परेका रामनगरका स्थानीयहरु कुलो पुर्ने निर्णयसंगै थप समस्यामा परेका छन् ।

आफुहरुलाई कुलो नहुदा समस्या पर्ने भएतापनि भारतिय पक्षको रातदिनको दादागिरी सहनुभन्दा हाललाई कुलो बन्द गर्नु नै तत्कालीन समस्या समाधानको उपाय भएको नेकपाका स्थानीय नेता टिकाराम अधिकारीले बताए ।उनले सिचाइका लागि विकल्प खोज्नुपर्ने बताउदै ठुटेखोलाको पुल संचालन हुनुपर्ने माग राखे ।

वीरगन्ज ठोरी हुलाकी सडक खण्डमा पर्ने ठोरीको ठुटेखोलामा सिमा विवादकै कारण लामो समयदेखि पुल बन्न सकेको थिएन ।दुबै पक्षबीच सिमा विवाद समाधान पश्चात पुल निर्माण सम्पन्न भैसक्दा समेत फेरि कुलोका कारण संचालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्