७१ वर्षको उमेरमा बल्ल नागरिकता



प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीको मंगला गाउँपालिका–३, बरंजाका काले घर्तीमगरले ७१ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा सञ्चालित एकदिने एकीकृत घुम्ती शिविरमा उहाँले नागरिकताको प्रमाणपत्र पाउनुभएको हो ।

गाउँका अरु सबै वृद्धवृद्धाहरुले सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता लिइरहेको अवस्थामा काले घर्तीमगर बल्ल नेपाली नागरिक बन्नुभएको छ । उहाँलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका र सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले संयुक्त रुपमा नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

जीवनको उत्तराद्र्धतिर आएर नागरिकता बनाउन पाउँदा आफूलाई खुशी लागेको नागरिकता धनी घर्तीमगरले बताउनुभयो । उहाँले अब भत्ता लिनका लागि नागरिकतासहित अरु कागजातहरु लिएर वडा कार्यालयमा पेश गर्ने समेत बताउनुभएको छ । सरकारले ७० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरुलाई मासिक दुई हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

७१ वर्षीय काले घर्तीमगरले आफू २५÷२६ वर्षको उमेरमा इन्डिया गएर ४९ वर्षसम्म त्यहाँ बसेर फर्किएको बताउनुभयो । लामो समयसम्म इन्डियामा नै बसेर फर्किएको हुँदा समयमै नागरिकता लिन नपाएको उहाँले बताउनुभएको छ । एक महिना पहिले मात्रै घरमा फर्किएको हुँदा घुम्ती शिविरको अवसरमा नागरिकता लिन भनेर आएको उहाँको भनाई छ । फौजीको लाहुरे हवल्दारसँग इन्डियाको सिलाङ पुगेर मेगालयमा काम गरेको काले घर्तीमगरले अनुभव सुनाउनुभयो । उहाँले आफूभन्दा धेरै जेठी उमेरकी महिलासँग घरमा विवाह गरिदिने कुरा चलेपछि आफू बिवाह नै नगरी इन्डियातिर लागेको बताउनुभयो ।

आफ्नो उमेरभन्दा नि धेरै उमेर पार गरेकीसँग के विवाह गर्नु भनेर विवाह पनि नगरेको र इन्डियामा नै बसेको घर्तीमगरको भनाइ छ । उहाँले इन्डियामा गए पनि काम गरेरै बसेको र विहे नगरेको खुलाउनुभयो । आफ्नो परिवार नभएको र गाउँ फर्किएपछि अहिले दाजुको घरमा बसेको उहाँले बताउनुभयो । नेपाली नागरिकताको प्रमाणपत्र नै नभएपछि काम गर्ने, खाने र बस्ने मात्रै काम भएको उहाँको भनाइ छ । बुढ्यौली उमेरले च्याप्दै गएपछि आफ्नै गाउँ ठाउँको माया लागेर स्वदेश फर्किएको उहाँले बताउनुभयो ।

लामो समयपछि नेपाल फर्किनुभएका काले घर्तीमगरले गाउँमा त धेरै परिवर्तनहरु भएको महशुस गरेको बताउनुभएको छ । आफ्नो गाउँ बरंजासम्मै मोटरबाटो आएको, बिजुली बत्ती बलेको र गाउँमै १२ कक्षासम्म पढाई हुनेहुँदा गाउँ नै शहर जस्तो बनेको उहाँले बताउनुभयो । आगामी दिनमा पनि जिल्लाका ठूल्ठूला सरकारी कार्यालयहरुले गाउँमै आएर जिल्ला जान नसक्नेहरुलाई सेवासुविधा दिनुपर्ने घर्तीमगर बताउनुहुन्छ ।

जिल्ला प्रशासन र स्थानीय तहले ग्रामीण भेगमै पुगेर घुम्ती शिविरमार्फत सदरमुकामबाट प्रवाह हुने सरकारी सेवासुविधा दिँदा खासगरी वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई राहत मिलेको छ । गाउँमै सञ्चालन गरिएको घुम्ती शिविरका कारण स्थानीयलाई समयको बचत हुनुका साथै, खर्च कम र झन्झटिलो बाध्यताको अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्