आफैलाई गोली हान्न लगाउने श्रीनिवासलाई कारागारमा पुजाकोठा



सरोज यादव,विराटनगर ।
आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका पण्डित श्रीनिवास आचार्य पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा छन् ।
प्रहरीले पक्राउ गरेपछि हिरासतमा बस्न नमानेर कोशी अञ्चल अस्पतालमा उपचार गराउँदै बसेका आचार्य कारागारमा भने सहज रुपमा बस्दै आएका छन् । क्षेत्रीय कारागार झुम्काले आचार्यलाई छुट्टै कोठाको ब्यवस्था गरेपछि उनी सहज रुपमा बस्न थालेका छन् ।

कारागारले आचार्यलाई पुजापाठ गर्ने बेग्लै ब्यवस्था गरेको छ । उनी कारागारमा पनि पुजापाठमा ब्यस्त देखिन्छन् । गत जेठ १६ गते आचार्यलाई हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको थियो ।

आदेश पछि कारागार लाने क्रममा विरामी भएका आचार्यलाई कोशी अञ्चल अस्पतालमा उपचार पछि सोहीदिन कारागार पुर्याईएको थियो ।
कारागार प्रशासनले उनलाई पुजापाठ गर्ने कोठा सहित बेग्लै बस्ने ब्यवस्था गरेको थियो । उनी पहिला पण्डित विनोद नेपाल बस्दै आएको कोठामा बसेका छन् ।

नेपाललाई कारागारले पुजापाठ गर्ने छुट्टै कोठा सहित राखेको थियो । नेपाल सजाय काटेर निस्किएपछि उनको स्थानमा श्रीनिवासलाई राखिएको हो । तर उनले कारागारमा खाना भने खाएका छैनन् ।
उनले दैनिक फलफुलमात्र खाने गरेको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्