मिस नेपाललाई बेस्ट थेसिस अवार्ड



हेटौंडा,(नेस)/२०१८ की मिस नेपाल हेटौंडाकी चेली शृखला खतिवडाले अर्को सफलता चुम्दै बेस्ट थेसिस अवार्ड चुमेकी छन्। पुल्चोक इञ्जिनियरिङ कलेजकी आर्किटेक स्नातक उनलाई एसियन पेन्ट्स नेपालले बेस्ट थेसिस अवार्ड प्रदान गरेको हो।
उनलाई सम्मानसहित ५० हजार रुपियाँ नगदसमेत प्रदान गरिएको छ। २०६९ को ब्याचका ४८ विद्यार्थीमध्ये खतिवडा उत्कृष्ट भएकी छन्। थेसिसका लागि आफूले रातदिन मेहनत गरेका कारण अवार्ड प्राप्त गर्न सफल भएको खतिवडाले बताइन्।

‘अवार्डले अझ धेरै ऊर्जा दिएको छ। म सम्मानको कदर गर्दै आगामी दिनमा उदाहरणीय काम गरेर देखाउनेछु’ –उनले भनिन्। उनको स्नातक तहको थेसिस २०७४ मंसिरमा सकिएको थियो।

मिस नेपाल शृंखलाले गृहजिल्ला मकवानपुरको विकट कैलाश गाउँपालिकाको चेपाङ बस्तीमा स्वास्थ्य संस्था स्थापना गरेर सरकारलाई चुनौती दिने भएकी छन्। गाउँपालिका–७ भार्ता पुगेकी उनले चेपाङ परिवारको घरमै पुगेर भलाकुसारी गरेकी थिइन्।

चेपाङको बाहुल्यता रहेको भार्तामा बालविवाह ८६ प्रतिशत रहेको उल्लेख गर्दै उनले त्यहाँका धेरैजसो बालबालिका कुपोषणको शिकार भएको बताएकी छन्। हेल्थपोस्ट पुग्न कम्तीमा साढे २ घन्टा लाग्ने र वर्षाको समयमा करिब ५ घन्टा हिँड्नुपर्ने बाध्यता रहेको भन्दै उनले स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय लिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्