‘काभ्रेको आलुमा विषादी छैन’



मोतीराम तिमल्सिना, काभ्रे । लामो समय देखि जिल्लामा उत्पादन हुने आलुमा धेरै विषादी प्रयोग हुन्छ भन्ने भ्रम ब्यवहारबाटै हटाउन गरिएको परिक्षणले तोकिएको मापदण्ड भन्दा कम विषादी रहेको पुष्टी गराएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, सुपरजोन कार्यान्वयन इकाई (आलु) बनेपाले गरेको विषादी प्रयोगको अवशेष विश्लेषणबाट जिल्लामा उत्पादन हुने आलुमा तोकिएको भन्दा कम मात्रामा विषादी प्रयोग भएकाले ढुक्क भएर सेवन गर्न सकिने बरिष्ठ कृषि अधिकृत किशोरप्रसाद पन्तले बताए ।

 

आलुबालिमा विषादी अवशेष विश्लेषण नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै पन्तले आलुमा हुने ओर्गानोफोसफेट र कार्बामेटको अवस्थाका बारेमा प्राप्त तथ्याकं तोकिएको भन्दा कम रहेकाले ढुक्कसक्क सेवन गर्न सकिने बताए ।

सुपरजोन अन्र्तगतका आलु खेति गरिने मुख्य क्षेत्रहरु पाँचखाल, खोपासी, कुशादेवी, नाला र बनेपा क्षेत्रको आलुको नमुना संकलन गरिएको थियो । प्रत्येक क्षेत्रबाट १० वटा नमुना संकलन गरी पनौती, साँगा र धुलिखेल बजारबाट ३ वटा नमुना संकलन गरिएको थियो । द्रुत विषादी अवशेष पपरिक्षण प्रयोगशाला कालिमाटीबाट परिक्षण गरि प्राप्त विवरण पाँचखालमा सार्वजनिक गरिएको थियो ।

पाँचखालमा १० वटा नमुना लिईएको थियो । सबै नमुनाको इनिविटिन प्रतिशत १६ भन्दा कम भएको देखाएको पन्तले बताए । पाँचखालमा गरिएको नमुना संकलनबाट खान योग्य आलु उत्पादन भएको पुष्टी भएको छ ।

पनौतीबाट २६ वटा नमुना संकलन गरिएको थियो । पनौतीमा रहेको आलुमा पनि विषादी कम रहेकाले खानयोग्य भएको निश्कर्ष दिईएको छ । जनचेतनामा बृद्धी, सरकारी तथा अन्य संघ संस्थाहरुको पहलकदमी, कृषकहरुमा जागरण, परिक्षणको लागि भर्खर खेतबाट खनेको आलुको नमुना संकलन गरिएकाले पाँचखाल तथा जिल्लाका अन्य क्षेत्रमा पनि उत्पादन हुने आलुमा विषादीको खपत कम भएको प्रमाणाीत भएको छ ।

आलुमा उत्पादन भए पछि पनि विभिन्न प्रकारका विषादीहरुको प्रयोग हुने गरेको छ । आलु सुपरजोन कार्यक्रमले आलुमा परिक्षण गरिएका विषादी बाहेक अन्य विषादीको अवशेष परिक्षण गर्न सुझाव दिएको छ भने भण्डारण गरिएका आलुको नमुनाहरुमा विषादी अवशेष परिक्षण गर्न सुझाव दिएको छ ।

राजधानीमा खपत हुने २५ प्रतिशत तरकारीमा आलु काभ्रे जिल्लाबाट भित्रने गरेको छ । कार्यक्रमा बोल्दै पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आगामी पाँच वर्ष भित्र पाँचखाल विषादी मुक्त नगर बनाउने अभियान शुरु गरिएको बताए । नगर भित्र उत्पादन हुने आलु बाहेकका अन्य तरकारीबालीहरु खान योग्य बनाउन र विषादीको मात्रा न्युनिकरण गर्ने अभियानमा विभिन्न कार्यक्रमहरु अगाडी बढेको बताए ।

सुपरजोन कार्यक्रमका अध्यक्ष हरि खतिवडाले जिल्लाका विभिन्न क्षेत्रमा सुपरजोन कार्यक्रमले ब्यवसायीक कृषिलाई बल पु¥याएको बताए । सुपरजोन कार्यक्रमका जिल्ला प्रमुख किशोर पन्त, पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, लवग्रिन नेपालका नारायण ज्ञवाली लगायतले तरकारी बालीमा हुने विषादी न्युनिकरणका लागि सबै क्षेत्रको अभियान सक्रिय बनाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्