शिक्षामा सोच्नै नसकिने शिर्षकमा खर्च



मोतीराम तिमल्सिना, काभ्रे । तत्कालिन शिक्षा कार्यालयमा भएको बेरुजु तथा अनियमितताको श्रृखंला जारी छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरिक्षणमा कार्यालयबाट तत्कालिन समयमा भएका अनियमितताका बारेमा आश्चर्यचकित हुने खालका खर्चहरु भएका छन् ।

२०७४ साल असार १३ गते माध्यमिक शिक्षा परिक्षा कक्षा ११ र १२ को अनुगमनमा मनलाग्दी भत्ता वितरण गरेको छ । एउटै काममा फरक फरक भुक्तानी गरी ४७ हजार ८ सय अनियमितता गरेको देखिएको छ । विद्यालय भवन निर्माणका लागि भुत्तानी गरेको पहिलो किस्ताको रकम अनुसारको काम सम्पन्न नभई दोश्रो किस्ता बापत समेत रकम उपलब्ध गराईएको छ ।

भुकम्प प्रभावित स्कुलको पुनर्निमाणका लागि कमलादेवी जनप्रिय मावी बल्थली, भैरव मावी गोकुले, ग्राम विकास मावि धुसेनी, चक्रज्योती मावि भैसेपाटी र जनचेतना मावी संस्र्युखर्कमा ७८ लाख रकम भुक्तानी गरिएको छ ।

आर्थिक वर्ष २०७३÷२०७४ मा ट्रसमा बनेको विद्यालय ब्लक मर्मतका लागि २०७४ असार २३ गते २६ करोड ४३ लाख ७१ हजार बजेट निकासा भएकोमा ३ सय ६५ वटा विद्यालयको खातामा रकम पठाई खर्च लेखिएको छ ।

छनौटको मापदण्ड पुरा नगरी छनौट गरिएको विद्यालयहरुको खातामा पठाई सकिएको रकम सोहि महिनाको असार २१ गते, साउन २२ गते, भदौ ५ गते र पुष २५ गते संशोधन गरी ४ करोड २७ लाख ७५ हजार रकम एउटा खाताबाट अर्काे खातामा रकम लगिएको छ ।

प्रधानमन्त्री राहत कार्यक्रमबाट विद्यालय भवन निर्माणका लागि दिएको विद्यालयहरुलाई समेत ट्रष्ट बापतको भरकम उपलब्ध गराईएको छ । एउटै प्रयोजन र कामका लागि दोहोरो निकासा दिईएको छ । १८ वटा विद्यालयलाई दोहोरो निकासा दिई १ करोड ३० लाख ५० हजार अनियमित खर्च गरिएको छ ।

आईसिटी इन एजुकेशन, ई–लाईब्रेरी, कम्प्युटर सर्भरका लागि १ सय वटा विद्यालयलाई ४० हजारका दरले रकम भुक्तानी गरेको भए पनि ८६ वटा विद्यालयले विल भरपाई नबुझाई अनियमित गरेका छन् । मावी र निमावी विद्यालयका लागि सामाग्री खरिदका लागि अनुदान प्राप्त भएको भए पनि विना आधार र प्रमाण नहुँदा १ करोड १४ लाख ८० हजार रुपैया नियम विपरित भुक्तानी गरेको छ ।

प्रयोगशाला ब्यवस्थापन र सामाग्री खरिद बापत ७२ विद्यालयलाई भुक्तानी गरिएको १ लाख ५० हजारका दरले १ करोड ८ लाख रकम अनियमित भएको छ । लक्षित वर्गका विद्यार्थीहरुका लागि पाठ्यपुस्तक उपलब्ध गराउन प्रति विद्यालय ५० हजारका दरले ६१ विद्यालयमा ३० लाख ५० हजार अनुदान दिएको अनियमितत भएको छ । लक्षित वर्गका विद्यार्थीले उक्त रकम प्राप्त गरेको प्रमाण नै छैन ।

प्राविधिक तथा ब्यवसायीक धारका विदालयहरुलाई ल्याब सामाग्री खरिदका लागि ३८ लाख अनुदान उपलब्ध गराईएको छ । ल्याब भए नभएको विद्यालयले प्रमाण उपलब्ध गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्