‘सिङ्गापुर वार्तामा धेरै प्रगति भयो’



सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्ररुपमा प्रतिक्षा गरेको शिखर वार्ता २०७५ जेठ २९ गते मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ ।

दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन्  ।

वार्तापछि राष्ट्रपति ट्रम्पले भने– मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ ।

जेठ २८ गते मङ्गलबार बिहानको छोटो वार्तापछि सम्वाददातालाई प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले वार्तामा निकै धेरै प्रगति भएको छ, यसले हामीलाई भोलिका लागि पनि सकारात्मक वातावरण निर्माण गरेको छ ।

वार्तामा प्रवेश गर्नुअघि पनि राष्ट्रपति ट्रम्प  पत्रकारहरूसँग आशावादी देखिएका  थिए  । त्यस समयमा संक्षिप्त कुरागर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग अहिलेसम्म नभएको सम्बन्धको विकास हुनेछ भनेका छन्।

वार्ताका लागि एक स्थानीय होटलमा प्रवेश गर्नुअघि उनीहरुले होटल बाहिरै हात मिलाएका  थिए ।

यसरी हात मिलाएपछि विश्वका सञ्चारमाध्यमहरुले अमेरिकाको बहालवाला राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक ऐतिहासिक भेट भएको भनेर प्रचार सुरु गरेका थिए ।

वार्तामा बस्नुअघि उत्तर कोरियाली नेताले भने– ”यस वार्ताका लागि सिङ्गापुरसम्म आइपुग्न सजिलो थिएन, कैयौँ अप्ठ्याराहरू थिए तर हामी आयौँ ।”

सिङ्गापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले एक अर्कासँग हात मिलाएर हाँसेका थिए।

उनीहरुले हात मिलाउने स्थानमा अमेरिका र उत्तर कोरियाको झण्डा राखिएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकाको झण्डा भएतिर गए र नेता किम उत्तर कोरियाको झण्डा भएको स्थानमा उभिएका थिए  ।

आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाए, एक अर्काको पिठ्यूँमा धाप मारेर सञ्चारका लागि फोटो खिच्न केही सेकेन्ड उभिएका  थिए  ।

त्यसपछि सोही स्थानमा उभिएका आ–आफ्ना अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरेर एक्लाएक्लै वार्ताका लागि होटलको अर्कै कक्षमा प्रवेश गरेका थिए।
उनीहरु वार्ता कक्षमा प्रवेश गर्दासम्म नै टेलिभिजन र अखबारका क्यामेराले पछ्याइ नै रहेका थिए । फोटो लिनका लागि त्यहाँ सयौँ क्यामेरा पुगेका थिए ।

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुने भनिएको यस वार्ताको यस महत्वपूर्ण घटनाका लागि विश्वका सञ्चारमाध्यमहरुले निकै पहिल्यै देखि नै समाचार सम्प्रेषण गरिरहेका थिए ।

अहिले पनि सिङ्गापुरमा विश्वका हजारौँ पत्रकार उपस्थित भएका छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्