किम जोङलाई अमेरिका भ्रमणको निम्तो



काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । सिंगापुरमा भएको ट्रम्प र किमको ऐतिहासिक भेटपछि ट्रम्पले किमलाई ह्वाइट हाउसको निम्तो दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसैबीच संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले संयुक्त समझदारी पत्रमा हस्तारक्षर गरेका छन् । ऐतिहासिक भेटपछि दुई नेताले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा भएका बुँदा विस्तृत विवरण आउन बाँकी छ ।

समझदारी पत्रमा हस्ताक्षर गरेपछि उत्तर कोरियाली नेता किमले आफूहरूले बिगतलाई छोडिदिने निर्णय गरेकाले अब संसारले नयाँ परिवर्तन देख्ने बताए । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको अनआणविकीकरण प्रक्रिया छिटै सुरू हुने बताए। उनले भविष्यमा धेरै आफूहरू भेट्ने पनि बताए ।

यसअघि दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधि मण्डलस्तरीय वार्ता भएका थिए । दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो ।

वार्तास्थलबाट सँगै निस्किएका उनीहरुमध्ये अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूबीच सौहार्दपूर्ण वार्ता भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्