कलाकार नेता



कलाकारहरू समाजसेवामा व्यस्त भएर हो क्यार हिजो–आज हाम्रा नेता हास्य कलाकारझैं भएका छन्। के सत्तापक्ष, के प्रतिपक्ष सबै दलका नेता ख्यालठट्टा गर्न खप्पिस। कोही अर्कालाई आरोप प्रत्यारोप गरेर हसाउन माहिर, कोही व्यङ्ग्य र कटाक्ष अनि कोही चाहिँ मौन रहेर पनि हसाउने।

पीएम ओली यो मामिलामा ‘नम्बर वान’, उनको बारेमा धरहराले धेरै बखान गरिरहनु पर्दैन। जनताले राहत महसुस गरुन या नगरुन उनले अरूलाई व्यङ्ग्य र कटाक्ष गर्नैपर्ने। काँग्रेस नेता देउवा प्रष्ट बोल्दैनन् तर अरूलाई हसाई रहन्छन्। संसदमा प्रतिपक्षी दल कमजोर बनेको भनेर निकै आलोचित भइरहँदा पनि उनी ढुक्क छन्, लोक हाँसिरहन्छ भने पार्टी कमजोर बनेर के भो, हैन त देउवाज्यू ?

ठूला दलका ठूला नेता मात्रै हैन, राजधानीका दुई महानगरका मेयर पनि हास्यकलामा माहिर छन्। ललितपुरका मेयर मर्हजन गम्भिर प्रकृतिका कार्यक्रममा पनि ख्याल ठट्टामा उत्रिहाल्छन्, जसरी हुन्छ कार्यक्रमका सहभागीलाई हसाउँनै पर्ने उनको लाइन छ। नगरको नतिजा त्यस्तै हो, जनता रिसाउन चाहिँ हुन्न है भन्ने उनको लाइन छ।

यता काठमाडौं महानगरका मेयर भने ठ्याक्कै विपरित। उनी ललितपुरका महर्जन जस्तो ख्याल ठट्टामा उत्रिदैनन्, प्रायः मौन रहन्छन्। उनको मौन प्रस्तुतीले पनि जग हाँस्न छोड्या छैन। नेकपाका बरिष्ठहरू पनि उनको शैली देखेर दिल खोलेर हास्छन् रे।

प्रतिक्रिया दिनुहोस्