विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाइने



नेपाल समाचारपत्र
विराटनगर
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गरिने भएको छ। सरकारले काठमाडौं बाहिरका ४ वटा विमानस्थललाई विमानस्थल हबका रुपमा विस्तार गर्ने योजना बमोजिम विराटनगर विमानस्थलको स्तरोन्नति गर्न लागिएको हो।

अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ हजार मिटर रनवे चाहिने भएकाले सोही बमोजिम योजना तयार पार्न प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले निर्देशन दिनुभयो। विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्न हाल विस्तार गरिरहेको २४ सय मिटरले मात्रै नपुग्ने भएपछि थप ६ सय मिटर बढाएर ३ हजार मिटर बनाउनुपर्ने देखिएको छ।

अन्तर्राष्ट्रियस्तरका लागि ३ हजार रनवे आवश्यक पर्ने सम्बन्धित निकायले भनेपछि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मापदण्डलाई पूरा गर्न निर्देशन दिनुभएको छ। सोमबार वायुसेवा कम्पनीहरूको सेवा प्रवाह एवम् विमानस्थल सञ्चालनका भावी योजना अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो निर्देशन दिनुभएको हो।

उहाँले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मन्त्रिपरिषद् बैठकबाट पारित गरी संघीय सरकारसमक्ष पु¥याउने बताउनुभयो। विमानस्थललाई प्रादेशिक उडान भर्ने गरी २४ सय मिटरको रनवे बनाउने योजना अनुरुप कार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका विराटनगरका प्रमुख टेकनाथ सिटौलाले जानकारी गराउनुभएको थियो। उहाँले पटक–पटक विमानस्थल बिस्तार गर्ने योजना ल्याउनुभन्दा एकैपटक ल्याएर अगाडि बढ्न सहज हुने बताउनुभयो।

उहाँले अहिले विराटनगर विमानस्थलबाट प्रत्येक दिन १५ वटा उडान हुने गरेको भन्दै यसलाई विस्तार गर्न अहिले पश्चिमपट्टि कम बस्ती बिस्तार भएकाले त्यता बिस्तार गर्न सहज हुने बताउनुभयो। अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो भने वस्ता नालालाई पश्चिमतिर लैजानुपर्ने र केशलिया खोलालाई डाइभर्ट गर्नुपर्ने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई उद्योग व्यवस्थापन महाशाखा प्रमुख सहसचिव सुरेश आचार्यले अन्तरप्रादेशिक उडानका लागि ३ हजार मिटर रनवे आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय मापदण्डको बनाउन सकारात्मक रहेको बताउनुभयो।

अन्तत्र्रिmयामा उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसैयत, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी, रामप्रसाद आचार्यलगायतले विमानस्थलबाट पश्चिम रनवे विस्तारका लागि समस्या नरहेको बताउनुभयो। १ सय १५ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको लम्बाई हाल १५ सय मिटरमात्रै छ। अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार भएपछि वार्षिक ८ देखि ९ अर्ब पुँजी वृद्धि हुनेछ। हाल प्रदेश नम्बर १ मा १३ वटा विमानस्थल सञ्चालनमा छन् भने बाँकी २ वटा निर्माणाधीन अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्