असारमै कात्तिक नाच



झट्ट सुन्दा आश्चर्य लाग्न सक्दछ, तर कात्तिक नाच असारमै हेर्न पाइने भएको छ।
आगामी असार ३ गते आइतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने युवा कलाकार स्वजन रघुवंशीको एकल नृत्य साँझमा कात्तिक महिनामा देखाइने मल्लकालीन नाच देखाउन लागिएको हो। २७ वर्षीय नृत्यकर्मी कात्तिक नाचका एक चर्चित कलाकार हुन्। नेपाल नृत्य निर्देशक संघ ललितपुर शाखाले गीत र संगीत एकल साँझझंै उनको एकल नृत्य प्रस्तुत गर्ने कार्यक्रम तय गरको हो।

पहिलोपटक हुन लागेको एकल नृत्य साँझमा कात्तिक नाचका केही अंश हेर्न सकिने हालै आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको छ। उनी ८ वर्षको कलिलो उमेरमै कात्तिक नाचमा प्र≈लादको भूमिकामा नृत्य क्षेत्रमा प्रवेश गरेका थिए। कलाकार रघुवंशीले पाटनको कात्तिक डबलीबाट देखाइने सो नाच पहिलो पटक स्टेजमा प्रदर्शन गर्न लागेका हुन्। उनले सभामा कृष्णगण प्रस्तुतिमा कुमार नाच साथै पञ्चकपाल चर्या नृत्य प्रस्तुत गर्नेछन्। परम्परागत कात्तिक नाचलाई अरू स्थानमा यसरी प्रस्तुत गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्नमा रघुवंशीले भने– ‘कात्तिक नाच समितिको सहमति लिएर नै नाच प्रस्तुत गर्न लागेको हुँ। यसले नाचलाई व्यावसायिक बनाउन टेवा मिल्नेछ।’

कलाकार रघुवंशीले कात्तिक नाचसँगै चर्या नृत्य, झ्याउरे, भरत नाट्यम, कत्थक, साल्सा नृत्यसमेत प्र्रस्तुत गर्ने नृत्य निर्देशक संघ नेपाल, ललितपुरका सचिव एवं कार्यक्रम संयोजक अनुप शाक्यले जानकारी गराए। त्यसअघि उनले सो साँझमा कत्थक नृत्य प्रतियोगितामा २५ मिनेट निरन्तर नृत्य देखाउनेछन्। कत्थक नृत्यमा जुनियर डिप्लोमा साथै सिनियर डिप्लोमामा स्वर्ण पदक हासिल गरेका कलाकार स्वजन रघुवंशी श्रृजना कलेज अफ फाइन आर्टमा पनि ब्याचलर अफ फाइन आर्टका उत्कृष्ट विद्यार्थी हुन्।

संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ र उपाध्यक्ष सञ्जय शर्मा राजोपाध्यायले २ घन्टा अवधिमा कलाकार रघुवंशीको निरन्तर नाच प्रस्तुतिले दर्शकलाई नयाँ स्वाद दिने विश्वास व्यक्त गरे। उनको प्रस्तुतिलाई निखार्न नृत्य गुरु हनी श्रेष्ठ, सञ्जय शर्मा राजोपाध्याय, सुलोचना गोपाली र दीपेन्द्र शाही ठकुरीलगायतले नृत्य निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्