शिखर वार्ताका लागि ट्रम्प र किम सिङ्गापुरमा



विश्व समुदाय भन्छ— सकारात्मक प्रयास 

सिङ्गापुर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुग्नुभएको छ ।

उहाँहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

शिखर वार्तामा सहभागिताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिङ्गापुरतर्फ लागेदेखि नै विश्वका मिडियाले उहाँको समाचारलाई बडो प्राथमिकता दिएका थिए । त्यसपछि उहाँ सिङ्गापुर पुगेपछि यो ठूलो समाचार बनेको छ ।

यतिखेर सिङ्गापुरमा विश्वका कैयौँ सञ्चारमाध्यम पुगेका छन् । ती सञ्चारले उहाँ कहाँ बस्नुभएको भन्नेदेखि लिएर उहाँले आइतबार सिङ्गापुरका राष्ट्रपतिसँग भेटवार्ता गर्नेसम्मको अवस्थालाई आफ्ना क्यामेरामा कैँद गर्न निकै चासो देखाएका बताइएको छ ।
त्यसैगरी यस वार्ताका अर्का प्रमुख पात्रका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पर्नुभएको छ । उहाँ पनि आइतबार नै सिङ्गापुर पुग्नुभएको हो ।

उहाँहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय बढी केन्द्रित हुने सहजै अनुमान लगाउन सकिन्छ, यद्यपि दुवै तर्फबाट वार्ताएको एजेण्डा भने आएको छैन ।

यही नै प्रमुख मुद्दा हुनेछ भन्ने अनुमान धेरैलाई छ । जसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शान्तिका लागि ‘एक पटकको प्रयास’ भन्नुभएको छ । पहिलो प्रयासले नै धेरै कुरा देखाउने उहाँको पहिल्यै देखिको भनाई रही आएको छ ।

कोरियाली प्रायद्वीपमा हाल युद्धविराम छ । लामो समयदेखि घोषणा गरिएको यो युद्धविरामलाई दिगो रुपमा नै शान्तिमा परिणत गर्ने प्रयत्न अमेरिकाको हुने पनि उहाँको भनाई रही आएको छ ।

कोरियाली नेता किम एअर चाइनाको उडानमार्फत सिङ्गापुर उत्रिनुभएको थियो । सिङ्गापुर शहरभरिको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । तर पनि फोटो पत्रकारहरुले भने उहाँका हरेक क्रियाकलापहरुलाई पछ्याएका थिए ।

उहाँले त्यहाँ पुगेपछि सिङ्गापुरको प्रसंशा गर्नुभयो । यदि सम्मेलन सफल भयो भने दुई नेतालाई भेट गराउने सिङ्गापुरको प्रयास ठूलो र ऐतिहासिक बन्नेछ उहाँले भन्नुभएको छ ।

उता अमेरिकी राष्ट्रपति ट्रम्प पनि क्यानाडामा जारी रहेको औद्योगिक राष्ट्रहरूको समूह जी–७ को बैठकमा सहभागी भएर आइतबार नै सिङ्गापुर आइपुग्नुभएको छ ।

उहाँलाई स्वागत गर्न सिङ्गापुर वरिष्ठ अधिकारीहरु विमानस्थल पुगेका थिए । सिङ्गापुर अवतरण गरेपछिको अति संक्षिप्त कुराकानीमा ट्रम्पले सम्मेलनले कोरियाली प्रायद्धीप र सिंगो संसारलाई नै सकारात्मक सन्देश दिएको बताउनुभयो ।

दुई नेतालाई फरक होटलमा राखिएको छ भने उहाँहरुको बसाई वरिपरिको सुरक्षा नगरको अरु क्षेत्रको भन्दा थप र निकै नै कडा पारिएको अधिकारीहरुले बताएका छन् ।

उहाँहरुबीचको महत्वपूर्ण शिखर वार्ता जुन १२ अर्थात् भोलि मङ्गलबार हुनेछ । वार्ताको सम्पूर्ण तयारी पूरा भएको सिङ्गापुर, अमेरिका र उत्तर कोरियाले बताएका छन् ।

उत्तर कोरियाको ‘सिङ्गापुर एजेण्डा’ तयार 

यसैबीच यस शिखर वार्ताका लागि उत्तर कोरियाले ‘सिङ्गापुर एजेण्डा’ तयार पारिएको जनाएको छ । तर सो एजेण्डामा के छ भन्ने बारेमा भने उसले केही बताएको छैन ।

तर सो एजेण्डामा विशेषतः उत्तर कोरियाले गर्दै आएको आणविक क्षेप्यास्त्रको उत्पादन र यसको परीक्षणको बारेमा समेटिएको बताइएको छ ।

साथै विश्व समुदायबाट कूटनीतिक तथा अन्य हिसाबले पनि एक्लिएको उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघसँग पनि केही गुनासोहरु वा उसमाथि लगाइएको नाकाबन्दी खोल्ने विषयमा पनि केही मागहरु राख्न सक्ने अनुमान विश्लेषकहरुको छ ।
तर यस विषयमा अमेरिका वा उत्तर कोरियाले पनि केही नबताएको त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएको छ ।

वार्ताको खर्च डेढ करोडः सिङ्गापुर 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार सिङ्गापुरले आयोजना गरेको यस बैठकका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको सिङ्गापुरले जनाएको छ ।

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले आइतबार मात्र उक्त खर्चको बारेमा जानकारी दिँदै सो कुरा बताउनुभएको हो ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच यही मङ्गलबार हुने शिखर वार्ताका लागि सिङ्गापुरले एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।

खर्चको करिब पचास प्रतिशत त सुरक्षा प्रबन्धमा नै लगाइएको छ— उहाँले भन्नुभयो । उहाँले सिङ्गापुरले शान्तिका लागि आफ्नो देशले प्रयत्न गरेको तर यहाँको खर्चको विवरणका लागि निकै चासोका साथ प्रश्नहरु उठेकोले मा उक्त खर्चको कुरा गरेको हो भन्नुभयो ।

सकारात्मक प्रयासः विश्व समुदाय 

यसैबीच सिङ्गापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको यस शिखर वार्ता निकै नै सकारात्क प्रयास भएको विश्व समुदायले प्रतिक्रिया दिएको छ ।

विश्व समुदायले यस प्रयासबाट विश्वमा शान्ति स्थापना होस् भन्ने कामना पनि गरेको छ । आणविक अस्त्रको होडभन्दा यसरी वार्तामा बसेर सकारात्मक रुपमा आफ्ना विचार राख्नुले विश्वमा नै शान्ति र सौहार्दताको सन्देश जाने उनीहरुको ठहर छ ।

यस वार्ताले कोरियाली प्रायद्धीप, एसिया तथा यतिमात्र नभएर सिंगो विश्वमा नै शान्ति स्थापनाको मार्ग खोल्न सकोस भन्ने कामना पनि विश्वका नेताहरु, विभिन्न संघ संस्था र देशले गरेका छन् ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्