ट्रम्प–किम प्रस्तावित शिखर वार्ता :- किम सिंगापुरमा, ट्रम्प जी ७ बैठक छोडेर वार्ताका लागि प्रस्थान



सिंगापुर, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन्। दुई नेताबीचको उक्त ऐतिहासिक भटवार्ता जुन १२ मो सेनटोसा रिसोर्टमा हुने कार्यक्रम रहेको छ।

सबै कुरा योजनामुताबिक अगाडि बढेमा उत्तर कोरियाली नेता र अमेरिकाका मौजुदा राष्ट्रपतिबीचको यो पहिलो भेटवार्ता हुनेछ। यस बैठकले उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम बन्द गर्ने प्रक्रिया शुरू गर्न मद्दत पुग्ने अमेरिकाले अपेक्षा गरेको छ।

दुई नेताबीच मंगलबार सेनटोसा द्विपस्थित क्यापेले होटलमा शिखर बैठक हुँदै छ। किम एयर चाइना ७४७ बाट सिंगापुर पुगेका थिए। किम आइतबार बिहान प्योङयाङबाट बेइजिङ पुगेको र त्यहाँबाट विमान परिवर्तन गरी उनी सिंगापुरका लागि प्रस्थान गरेको उडानमा निगरानी राख्ने वेबसाइट फ्लाइट राडार २४ ले उल्लेख गरेको छ।

अर्कोतर्फ राष्ट्रपति ट्रम्प क्यानाडामा भइरहेको जी ७ सम्मेलन बीचैमा छोडेर सिंगापुरका लागि प्रस्थान गरिसकेको बताइएको छ। सम्मेलन छोडेर सिंगापुर प्रस्थान गर्नुअगाडि ट्रम्पले ट्विटमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोलाई ‘बेइमानी र कमजोर‘ को संज्ञा दिएका थिए। शिखर सम्मेलनको संयुक्त घोषणा तथा विज्ञप्तीमा पनि सहभागी हुन ट्रम्पले अस्वीकार गरेको बताइएको छ।सिंगापुरका विदेशमन्त्री बिबिययान बालकृष्णनले चांगी विमानस्थलमा किमसँग हात मिलाउँदै गरेको एक तस्वीर ट्विट गरेका छन्। त्यहाँबाट किम मर्सेडिज बेन्ज गाडीबाट एक सेन्टरतर्फ गएको देखिएका थिए।उनको सवारीमा २० भन्दा बढी गाडी प्रयोग भएका थिए।

सिंगापुरका विदेशमन्त्री बालाकृष्णनले किमसँगको आफ्नो तस्वीर ट्विट गरी उनी सिंगापुर पुगेको पुष्टी गरेका छन्। किमको बिमान आइतबार अपरान्हतिर सिंगापुरको चांगी विमानस्थलमा अवतरण गरेको हो। त्यसपछि कडा सुरक्षासहित किम विमानस्थलबाट होटलतर्फ प्रस्थान गरेका थिए। उत्तर कोरियाली नेता सिंगापुरको सेन्ट रेगिस होटलमा बस्न सक्ने बताइएको छ। त्यसै गरी ट्रम्प सांग्रिला होटलमा बस्ने जनाइएको छ।

दुई नेताबीचको ऐतिहासिक वार्तालाई ध्यानमा राखी सिंगापुरमा हवाई क्षेत्र पनि प्रतिबन्धित हुने बताइएको छ।विगत १८ महिनामा दुई नेताको सम्बन्धमा ब्यापक उतारचढाव देखिएको छ। भेटवार्ताका लागि सहमत हुनुअगाडि एकअर्काबीच व्यापक टिक्काटिप्पणी भएको थियो।

शान्तिको मिसन
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको सिंगापुरमा हुन गइरहेको ऐतिहासिक बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। यसबीच ट्रम्पले यो अन्तिम अवसर हो भन्ने कुरा उत्तर कोरियाले थाहा पाइसकेकाले प्योङयाङले केही सकारात्मक कदम उठाउँछ भन्ने आफूलाई लागेको बताए।

क्यानाडाको क्युबेकमा भइरहको विश्वका प्रमुख औद्योगिक राष्ट्रहरूको जी ७ संगठनको शिखर सम्मेलनबाट सिंगापुरका लागि प्रस्थान गर्नुअगाडि ट्रम्पले किमसँग मंगलबारको प्रस्तावित भेटवार्ता ‘शान्ति अभियान‘ भएको सीएनएनले जनाएको छ। उनले अगाडि भने– ‘मलाई लाग्छ किम जोङ उन आफ्ना जनता, आफ्नै लागि र परिवारका लागि केही सकारात्मक गर्न गइरहेका छन्, किनभने उनीसँग अब यो अवसर हुने छैन।

यद्यपि वार्ताको सफलतालाई लिएर आश्वस्त नभएको ट्रम्पले स्वीकारेका छन्। उत्तर कोरिया परमाणु हतियार छोड्ने विषयमा गम्भिर छ वा छैन भन्ने कुरा एक मिनेटभित्र थाहा हुने ट्रम्पले बताए।

उनले भने– ‘यो वास्तवमै अज्ञात क्षेत्र हो, तर म आश्वस्त भने छु। यस्तो पहिला कहिल्यै भएको छैन। यसलाई कहिले पनि परीक्षण गरिएको छैन। त्यसैले हामी सकारात्मक सोच लिएर अगाडि बढिरहेका छौं।

यसअघि बैठकका लागि राम्रैसँग तयार रहेको र यसका लागि धेरै ठूलो तयारी गर्न आवश्यक नभएको ट्रम्पले बताएका थिए। यदि शिखर वार्तामा सबैकुरा राम्रो भएमा आफूले किमलाई ≈वाइट हाउस आउन निमन्त्रणा दिने ट्रम्पले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्