आक्रोशले कूटनीतिमाथि दमन गर्न सकिन्न: म्याक्रोन



क्युवेक, (एजेन्सी)
क्यानाडामा विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी ७ को शिखर सम्मेलन तिक्त वातावरणमा समाप्त भएपछि फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोनले आइतबार ‘रिसको थुप्रो’ ले कूटनीतिमाथि दमन गर्न नसक्ने प्रतिक्रिया व्यक्त गरेका छन्। ट्विटरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मलेनका आयोजक जस्टिन ट्रड्युलाई ‘बेइमान र कमजोर’ को संज्ञा दिँदै संयुक्त विज्ञप्तिको समर्थन गर्न पुगेकोमा क्षमायाचना गरेका छन्।

फ्रान्सको सो विज्ञप्ति विशेष गरी व्यापारमाथिको गहिरो असहमति पन्छाउनका लागि जारी गरिएको थियो। म्याक्रोनको कार्यालयले फ्रान्स र अन्य युरोपेली राष्ट्रहरूले जी ७ को अन्तिम घोषणापत्रको समर्थन गर्ने जनाएको छ। एएफपी समाचार निकायले पे्रmन्च राष्ट्रपतिको विज्ञप्तिलाई उद्धृत गर्दै जनाएको छ, ‘हाम्रा जनताका लागि मूल्यवान र गम्भीर बनौं। हामीले प्रतिवद्धता जनाउँछौं र तिनीहरूसामू पुरा गरेर पनि देखाउँछौं। अन्तर्राष्ट्रिय सहयोगलाई जथाभावी आक्रोश र हेपाहा टिप्पणीले दमन गर्न सकिन्न।’ जर्मनीले पनि आफू सम्मेलनको घोषणापत्रप्रति अडिग रहने जनाएको छ।

पछिल्ला साताहरूमा अमेरिकाका व्यापार साझेदारहरूले ट्रम्प सरकारले स्टिल र एलुमिनियमको आयातमाथि लगाइएको करको आलोचना गर्दै आएका थिए। शनिबार जारी भएको घोषणापत्रमा नियम कानुनमा आधारित व्यापार प्रणालीको वकालत गर्दै ती तनावहरू खुकुलो पार्ने उल्लेख गरिएको थियो।

किमसंग सिंगापुरमा भेट्न जाने क्रममा ट्रम्पले ट्विट गर्दै आफूले अमेरिकी अधिकारीहरूलाई सो घोषणापत्रलाई समर्थन नगर्न आदेश दिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्