प्रहरीमा एआईजीको दरबन्दी घटाइयो



नेपाल समाचारपत्र
काठमाडौं
अब नेपाल प्रहरीमा तीन जना मात्र एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) रहने भएको छ।
यसअघि १६ जना एआईजी रहँदै आएकोमा त्यसलाई परिर्वतन गर्दै सरकारले सो निर्णय गरेको हो।
आइतबार मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना मात्रै एआईजीका दरबन्दी कायम गर्नेे निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

त्यसै गरी सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी २ जना कायम गरिएको छ। बैठकले स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिलाई पहिलो प्राथमिकता दिई आगामी आर्थिक वर्षभित्र १ हजार ६ सय दरबन्दी र बाँकी दरबन्दी क्रमशः पदपूर्ति गर्ने निर्णय गरेको छ। त्यसै गरी नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता बाँस्कोटाले बताउनुभयो।

त्यसैगरी बैठकले तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रूबेंसी र चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव पनि स्वीकृत गरेको छ। दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ। नेपाल र चीन सरकारबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि आवश्यक समझदारी गर्ने अख्तियारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीलाई दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो।

चीनको नेसनल इनर्जी अफ एडमिनिस्ट्रेसनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको थियो।सोही प्रस्तावमा समझदारी गर्ने अख्तियारी मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई दिएको हो।

प्रतिक्रिया दिनुहोस्