गुणस्तरहीन पाइएपछि काठमाडौं स्टीलका डन्डी प्रयोगमा रोक



नेपाल समाचारपत्र
काठमाडौं
डन्डीको गुणस्तर नभएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टील प्रालिलाई डन्डी उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ। विभागले ल्याब परीक्षण गर्दा उक्त कम्पनीको डन्डी गुणस्तरहीन रहेको पाइएपछि कम्पनीलाई प्रदान गरेको एनएस चिन्ह खारेज गर्दै उत्पादन र बिक्रीमा रोक लगाएको हो।

विभागका अनुसार काठमाडौं स्टील प्रालि नवलपरासीद्वारा उत्पादन हुने एफई ५०० ग्रेडको ८ मि.मि., १२ मि.मि. र १६ मि.मि. साइजका फलामे डन्डीको नमुना विभागको प्रयोगशालामा परीक्षण गराउँदा भौतिक चारित्रिक गुण (टेन्साइल प्रपर्टी ) नेपाल गुणस्तर १९१ बमोजिम नपाइएकाले उक्त उद्योगलाई एफई ५०० ग्रेडका लागि प्रदान गरिएको इजाजतपत्र विभागको जेठ २२ गतेको निर्णयअनुसार खारेज गरेको छ।


काठमाडौं स्टील प्रालि नवलपरासीद्वारा उत्पादन हुने एफई ५०० ग्रेडको ८ मि.मि., १२ मि.मि.र १६ मि.मि. साइजका फलामे डन्डीको ल्याब परीक्षण गराउँदा टेन्साइल प्रपर्टी पाँच सय हुनुपर्नेमा साढे चार सयमात्रै भएको भेटिएकाले सो कारबाही गरिएको विभागले जनाएको छ, टेन्साइल कम हुँदा भारवहन क्षमता कमजोर हुने हुँदा पूर्वाधार कमजोर भई उच्च जोखिमयुक्त हुने भएकाले एनएस चिन्ह खारेज गर्दै कम्पनीको उत्पादन तथा बजारमा रहेको सामग्रीको समेत बिक्री वितरणमा रोक लगाइएको हो।

विभाग स्रोतका अनुसार उपभोक्तालाई त्यसबारेमा सचेत गराउँदै बजार अनुगमन गरी काठमाडौं स्टीलका डन्डी जफत गर्ने तयारीमा विभाग रहेको छ। अहिले उद्योगका अन्य उत्पादनको समेत गुणस्तर परीक्षण भइहेको हुँदा कम्पनीका सञ्चालकलाई अरू के कारबाही गर्ने भन्ने विषयमा निर्णय नभएको हो स्रोतले भन्यो। ‘अहिले डिफल्ट देखिएका डन्डीको गुणस्तर चिन्ह खारेज गरी बिक्रीमा रोक लगाइएको छ, अब अरूको पनि परीक्षणपछि थप निर्णय हुन्छ।’ स्रोतले नेपाल समाचारपत्रलाई बतायो। काठमाडौं स्टिल प्रालिले ८ देखि ३२ मि.मि.सम्मका एफई ५ सय ग्रेडका डन्डी उत्पादन गर्दै आएको छ।

भाटभटेनी सुपरमार्केट सञ्चालकको लगानी रहेको उक्त कम्पनीले उत्पादन गरेका गुणस्तरहीन डन्डी कति परिमाणमा बजारमा पठाएको छ भन्ने नखुलेका कारण बजारमा डन्डीको प्रयोगकर्ता आफैं पनि सचेत हुनुपर्ने स्रोतको भनाइ छ।


‘भारवहन क्षमता अत्यान्तै कमजोर रहेकाले निर्माण क्षेत्रमा यसको प्रयोगमा रोक लगाइएको छ।’ स्रोतले भन्यो–‘अब उपभोक्ता पनि सचेत हुनु प¥यो।गुणस्तार विभागले कस्तो कारबाही गरेको हो ? के कारणले कम्पनीका उत्पादनमा डिफल्ट देखियो ? अब कम्पनी कसरी अगाडि बढ्छ भन्ने विषयमा नेपाल समाचारपत्रले काठमाडौं स्टिलका प्रमुख कार्यकारी अधिकृत केशव पोखरेलसँग कयौंपटक सम्पर्कको प्रयास गर्दा पनि सफल हुन सकेन।

यसैबीच राष्ट्रिय गौरबको आयोजनामा गुणस्तरहीन डन्डी प्रयोग भइरहेको जानकारी प्राप्त भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले गौतमबुद्ध विमानस्थलमा काठमाडौं स्टीलका डन्डी प्रयोग नगर्न पत्राचार गरेको बताइएको छ।विमानस्थलको पूर्वाधार निर्माणमा काठमाडौं स्टील प्रयोग भएको जानकारी पाएपछि प्रयोग गर्न रोक लगाएको हो।‘अहिले गौतमबुद्ध विमानस्थलमा काठमाडौं स्टीलका डन्डी प्रयोग भइरहेको जानकारीका आधारमा पत्रचार गरेका छौं, अन्य ठूला आयोजनामा पनि प्रयोग भइरहेको छ छैन भन्ने बारेमा खोजी गर्दै छौं।’ स्रोतले नेपाल समाचारपत्रलाई भन्यो।

प्रतिक्रिया दिनुहोस्