जी–७ मा रुसलाई समावेश गर्नुपर्छ: ट्रम्प



ट्रम्प र सहयोगी नेताहरूबीच मदभेद
क्युबेक, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको क्युबेकमा भइरहेको विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूको संगठन जी–७को शिखर बैठकमा रुसलाई पनि सहभागी गराउनुपर्ने बताएपछि उनी एक्लिन पुगेका छन्। उनले रुस एक प्रमुख औद्योगिक देश भएको र उसलाई पुनः उक्त समूहमा स्थान दिनुपर्ने सुझाव अगाडि सारेका थिए।

सन् २०१४ मा क्रिमियामाथि कब्जापछि रुसलाई जी–८ देशको समूहबाट निष्कासन गरिएको थियो र यो समूह जी–७ बनेको थियो। ट्रम्पले बैठकमा सहभागी हुने देशको संख्या कम भएको बताएका थिए। ट्रम्पका कयौं मुद्दामा जी–७ देशका नेता उनीसँग सहमत देखिएका छैनन्। उनले भने– ‘तपाईंलाई मन परे पनि नपरे पनि वा राजनीतिक रूपमा सही भए पनि नभए पनि, हामीलाई विश्व चलाउनु छ। जी–७ जसमा पहिला रुस पनि थियो र उसलाई बाहिर पठाइयो। त्यसैले रुसलाई फेरि यसमा सहभागी गराउनुपर्छ।’

यस मुद्दामा इटालीका नयाँ प्रधानमन्त्री जुसेपे कोन्टेले ट्रम्पको समर्थन गरेका छन्। उनले ट्विटमा भनेका छन्– ‘सबैको हितको रक्षाका लागि रुसलाई सहभागी गर्नुपर्छ।’ यसबीच क्यानडा, फ्रान्स र बेलायतले तत्काल ट्रम्पको सुझावमा सहमत नभएको संकेत दिएका छन्। जी–७ को यो वर्षको शिखर सम्मेलन हालैका केही वर्षहरूको तुलनामा सबैभन्दा जटिल परिस्थितिमा क्यानडामा भइरहेको छ।
ट्रम्पले हालै आफूले घोषणा गरेको आर्थिक नीतिका कारण उत्पन्न विवादमा शुक्रबार क्यानडा, फ्रान्स, बेलायत, जर्मनीका नेताहरूसँग छलफल गरेका छन्। तर उनी जी–७ का अन्य एजेन्डा जलवायु परिवर्तन, महिला सशक्तीकरण, इरानको परमाणु कार्यक्रमका मुद्दामा छलफलका लागि उपस्थित नहुने भएका छन्। उनी उत्तर कोरियाका नेता किम जोङ उनसँग सिंगापुरमा शिखरवार्ताका लागि शनिबार नै त्यहाँबाट प्रस्थान हुने कार्यक्रम रहेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतकी प्रधानमन्त्री टेरिजा मेको ‘स्कुल शिक्षिका’को जस्तो शैलीबाट आफू वाक्कदिक्क भइसकेको द टेलिग्राफलाई बताएका छन्। त्यसैले क्यानडामा शिखर सम्मेलनका क्रममा ती दुईबीच औपचारिक वार्ता नहुने उनले जानकारी दिए। अमेरिकी राष्ट्रपतिको उक्त टिप्पणी प्रधानमन्त्री मेसँग भएका टेलिफोन वार्तालाई लिएर आएको हो। लामो वार्तालापभन्दा छिटो नीतिगत निष्कर्षमा पुग्नु राम्रो हुने आफूले सुझाव दिएको ट्रम्पले बताए।

प्रतिक्रिया दिनुहोस्