सांघाइ सहयोग संगठनको शिखर सम्मेलन पुटिनलाई ‘असल मित्र’ पदक



क्विंगदोओ, (एजेन्सी)
चीनको क्विंगदाओमा आयोजना भइरहेको सांघाइ कोपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन पुगेका छन्। मोदी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। दुई नेताबीच द्विपक्षीय सहयोगका सबै पक्षमा चर्चा भएको बताइएको छ।

सांघाइ सहयोग संगठन (एससीओ)का ८ सदस्य देशका नेता तथा प्रतिनिधिहरू सम्मेलनमा भाग लिन चीनको बन्दरगाह शहर क्विंगदाओ पुगेका छन्।

त्यसैगरी मोदीले उज्वेकिस्तानका राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्। भारत र पाकिस्तानलाई पूर्ण सदस्यता दिएपछि पहिलो पटक भारतका प्रधानमन्त्रीले एससीओको शिखर सम्मेलनमा भाग लिएका हुन्।

दुई नेताबीच ६ हप्ताअगाडि वुहानको अनौपचारिक भेटवार्तापछिको यो दोस्रो बैठक हो। वार्ता एससीओको वार्षिक शिखर सम्मेलनबाहिर भएको हो।

एससीओमा आतंकवाद र कट्टरपन्थीविरुद्धको युद्धमा सहयोग वृद्धि गर्न ठोस उपाय खोज्न र वर्तमान अन्तर्राष्ट्रिय मुद्दामा विचार विमर्श हुने बताइएको छ। सांघाइ सहयोग संगठनको स्थापना सन् २००१ मा भएको थियो। यसको उद्देश्य सीमा विवादको समाधान, आतंकवादविरुद्ध लडाइँ, क्षेत्रीय सुरक्षा वृद्धि गर्नु र मध्य एसियामा अमेरिकाको बढ्दो प्रभावलाई चुनौती दिनु हो। यस संगठनका सदस्यहरू चीन, कजाकिस्तान, किर्गिजस्तान, रुस, ताजकिस्तान, उज्बेकिस्तान, भारत र पाकिस्तान हुन्।
यसलाई नेटोलाई चुनौती दिने संगठनका रूपमा लिने गरिएको छ। यसमा सदस्य देशबीच सुरक्षा सहयोग बढाउनु पनि प्रमुख उद्देश्य रहेको छ।


पुटिन सम्मानित
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चीनको पहिलो ‘असल मित्र’को पदकबाट विभूषित गर्दै उनी आफ्नो निकट मित्र भएको बताए। पुटिनलाई लिएर पश्चिम मुलुकहरूको गहिरो आशंका रहेको भए पनि दुई देशबीचको सम्बन्ध घनीभूत भइरहेको छ।

पुटिन चीन र रुस नेतृत्वको सुरक्षा खेमाअन्तर्गतको सांघाइ कोपरेसन अर्गनाइजेसन (एससीओ)को सप्ताहान्तको शिखर सम्मेलनका लागि चीनको क्विंगदाओ बन्दरगाह शहर पुगेका छन्। यसअघि उनी सीसँग वार्ताका लागि बेइजिङ ओर्लिएका थिए।

बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको बैठकमा सीले उनीहरूबीचको सम्बन्ध उत्कर्षमा पुगेको बताएका थिए। ‘अन्तर्राष्ट्रिय परिस्थितिमा कस्तो उतारचढाव आइरहेको त्यो ठूलो कुरा होइन, चीन र रुसले सधैं सम्बन्ध विकासलाई प्राथमिकता दिएको छ।’ –सीले औपचारिक वार्ता पूर्व पुटिनलाई भेनेका थिए।

सीले त्यसपछि पुटिनलाई लामो सुनौलो सिक्रीमा झुण्डाइएको चीनको पहिलो मैत्री पदक प्रदान गरे। पदक लगाइदिनुअगाडि सीले पुटिनलाई चिनियाँ जनताको ‘असल तथा पुरानो मित्र’ भएको बताएका थिए। ‘राष्ट्रपति पुटिन विश्वभरि प्रभाव राख्ने महान् राष्ट्रका नेता हुन्। उनी मेरा अत्यन्तै मिल्ने र नजिकको मित्र हुन्।’ –सीले भने।

दुवै नेता दुई देशबीच १ अर्ब डलरको औद्योगिक लगानी कोष स्थापना गर्नेलगायत कयौं सहमतिमा भएको हस्ताक्षर समारोहमा उपस्थित रहेका थिए। सीले दुवै देशले विश्व मञ्चमा तिनीहरूको समन्वय गहिरो पार्दै लग्न प्रतिबद्धता व्यक्त गरे। पुटिनले उक्त पदक सम्मानका लागि धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्