हालेपले अन्ततः ग्रान्डस्लाम उपाधि जितिन



पेरिस, (एजेन्सी)
शीर्ष वरियताकी सिमोना हालेपको ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्य अन्ततः शनिबार रोलान्ड ग्यारोसमा पुरा भयो। रोमानियाली खेलाडीले यसका लागि चार वर्ष संघर्ष गर्नुपर्यो। वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपनअन्तर्गत फाइनलमा हालेपले अमेरिकी स्लोन स्टेफेन्सलाई तीन सेटमा हराएर उपाधि जितेकी छिन्। सन् २०१४ र २०१७ मा फ्रेन्च ओपन तथा यसै वर्ष अस्टे«लियन ओपनतर्फ फाइनल गुमाएकी हालेपले उपाधि जित्न तीन सेट खेल्नुपर्यो।

फाइनल खेलमा हालेपले स्टेफेन्सलाई ३–६, ६–४, ६–१ ले पराजित गरिन्। यो हालेपको तेस्रो फ्रेन्च ओपन फाइनल हो भने स्टेफेन्सको पहिलो थियो। गत वर्ष युएस ओपन जितेकी स्टेफेन्सले ६–३ र २–० ले अग्रता बनाउँदा दोस्रो ग्रान्डस्लाम उपाधि जित्ने सुरसार गरेकी थिइन्। तर हालेपले पछि १५ गेममा १२ गेम जितेर उपाधि पक्का हात पारिन्। निर्णायक सेटमा उनी ५–० ले अगाडि बढेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्