वर्तमान व्यवस्था : लोक–तान्त्रिक कि हात्ती–तान्त्रिक ?



मुक्तिबन्धु

सपनाका पोका फुकाएर सरक्कन
नेताका हातमा सुम्पी आफू ढुक्कसरी हुन
पाएनौं जनताले खै जे–जे तन्त्र खुले पनि
पसिनापोखरीभित्र जस्ता माछा हुले पनि।

दिक्क लाग्छ। जनप्रतिनिधिको अर्थलोलुपता–गाथा सुन्दा दिक्क लाग्छ। राष्ट्रिय प्रकृति र संस्कृतिविरुद्धका प्रतिगामी योजना सुन्दा दिक्क लाग्छ। राष्ट्रिय एकता र प्रगतिका पक्षधर हामी नेपाली जनतालाई दिक्क लाग्छ, वाक्क लाग्छ, घृणा पनि लाग्छ। के सांसद हुनु मदोन्मत्त हात्ती हुनु हो ? आफैंले पारित गरेको संविधानअनुसार निर्वाचित स्थानीय जनप्रतिनिधिलाई कुल्चँदै लस्कने मत्ता हात्ती हुनु हो ? कि जति खाए पनि जसरी खाए पनि नअघाउने दुर्भर हुँडार हुनु हो माननीय सांसद हुनु ? यो यस्तो त नहुनु पर्ने हो। हाम्रा माननीय सांसद राजनीतिविज्ञ हुनुहुन्छ।

एक से एक त्यागी तपस्वी हुनुहुन्छ। देश र जनताका समस्या र समाधानबारे पनि त्यत्तिकै विज्ञ हुनुहुन्छ। लोकप्रिय हुनुहुन्छ। यिनै आधारमा जनताले विश्वास सुम्पेर सार्वभौम बनाइदिएका छौं। यस्ता महिमाशाली माननीय सांसद अर्थलोलुपताको उराठ लाग्दो आवाज निकाल्दै गरिमामय संसद्मा देश र जनताका आँखाअगाडि नाङ्गो र निर्लज्ज, ¥याले भिखारीकै अवतारमा उभिएर बर्बराउन कसरी सक्नुहुन्छ ? यो हाम्रो श्रुतिभ्रम र दृष्टिभ्रम पनि हुनसक्छ।

भ्रम नभएर यथार्थ हो भने यो सामान्य होइन, एक कहाली लाग्दो यथार्थ हो। हामीले निर्वाचनबाट हात्ती त बनाएकै हौं। अङ्कुशे पो बनेन। ‘हस्तीस्थूलतनुः स चाङ्कुशवसः’ बूढापाकाले भन्थे– ‘हात्ती भयंकर ठूलो भए पनि अङ्कुसेद्वारा ठीक बाटोमा हिँडाउन सकिन्छ। वर्तमान नेपालका हामी हात्तीपीडितहरू अहिले आएर झल्याँस्स भएका छौं, ‘अङ्कुसे त हुनुप¥यो नि जनताका हातमा। खै अङ्कुसे ?’ ‘विश्वमै नभएको लोकतान्त्रिक र जनवादी संविधान’ बन्दा पनि हामी जनताले आफ्ना सम्भावित निरङ्कुश प्रतिनिधिलाई वापस बोलाउने अधिकार त पाएका छैनौं।

टाठाबाठा राजनीतिक व्यवसायीले भ्रमजाल फिँजाएर जसरी तसरी निर्वाचन जित्ने र सत्तासीन बनेपछि तिनै मतदाता जनताका टाउकामा वितण्डानाच नाच्ने, तिनै जनताका पसिनापोखरीमा पौडी खेल्ने, जनता निरीह र पीडित बनिरहनुपर्ने हात्तीतन्त्रमात्र पाएका छौं। जनताको आशीर्वादले बाघ बनेको हिजोको मुसा आज गर्जंदै जनतामाथि नै झम्टँदा तत्कालै ती जनताले पुनर्मूसिको भव भनेर पुरानै हैसियतमा ओराल्न नसकिने लोकतन्त्र के लोकतन्त्र ? जबसम्म निर्वाचनमा उम्मेदवार चित्त नबुझ्दा मतदाताले मतपत्रमा अस्वीकृति जनाउने अधिकार र निर्वाचित प्रतिनिधिले चित्त बुझ्दो काम नगर्दा जनताले फिर्ता बोलाउने अधिकारको व्यवस्था संविधानमा गरिँदैन, तबसम्म हामी जनतालाई लोकतन्त्र अनकन्टार जङ्गलमा जङ्गली हात्तीका बीच भगवान् भरोसा भौतारिन पर्नुको बाध्यताजस्तै हो।

मदोन्मत्तता होइन भने स्थानीय सरकार र प्रादेशिक सरकार बनिसकेको नेपालमा पर्याप्त बेतन भत्ताद्वारा सुपालित माननीय केन्द्रीय सांसदका हातहातमा थप ४÷४ करोड सरकारी रकम फरमाइसी किन चाहिन्छ ? एक विदेशी पाहुनाको स्वागत सत्कारमा राष्ट्रिय ढुकुटीबाट करोडौं रकम खर्च किन गर्नुपर्छ र त्यसको विवरण सार्वजनिक गर्न किन सकिँदैन ? कहिले त यस्तो पनि लाग्छ, हाम्रा माननीय सांसद अत्यन्त भोका छन्। जहिले र जहाँ पनि भोकले रन्थनिएको अवस्थामा रहन्छन्। जहाँ जति बेला जे पाइन्छ त्यो टपक्क टिमेर मुखमा पठाउनु र हत्तपत्त निल्नुबाहेक अरू सोच विवेकले कामै गर्दैनन्। ‘क्षुधातुराणां न च पूर्ण–वुद्धिः। भोकको आत्तुरीमा बुद्धिले कामै गर्दैन।’ बुद्धि विवेक नै लर्बराउने यस्तो यो भोक यथार्थमै भयङ्कर डर लाग्दो भोक हो। यस्तै भयङ्कर भोकप्रसङ्गमा म पञ्चतन्त्रको एउटा कथा सम्झन्छु। कथा यस्तो छ–

थुप्रै माछा र भ्यागुता आवाद रहेको एक शान्त पोखरीमा एक दिन झन्डै–झन्डै माछाजस्तै देखिने एउटा त्यस्तै भयङ्कर भोको सर्प आइपुग्छ। कति खाए पनि नपुग्ने असाधारण भोकको यो सर्प भ्यागुतामैत्री बनेर पोखरीमा पस्छ र माछाहरूलाई निर्धक्क रहन अपिल गर्छ। ऊ देख्ने गरी माछा भ्यागुता खाँदैन। पोखरी भने क्रमशः पातलिँदै जान्छ। एक दिन गंगदत्त र भद्रिका नामका भ्यागुताजोडी घुमघामको सुर चढेर कसैलाई केही नभनी पोखरीबाट लुसुक्क भ्रमणमा निस्कन्छन्। भ्र्रमणकै क्रममा बाटोमा अर्को एउटा सानो पोखरी भेटिन्छ। त्यहाँ पसेर सुस्ताउँछन्। केही दिन शान्तिले बित्छ। यसैबीच आफ्ना प्रियतम भ्यागुतासँग भ्यागुती भन्छे– ‘भो अब यस अन्जान पोखरीमा धेरै नबसौं। भ्रमण छोट्याएर आफ्नै पहिचानको पोखरी फर्कौं। हाम्रा मितज्यू सर्प पनि नियास्रिसक्नुभयो होला। हामी केही नभनी आयौं।’ सर्पको भोक चिनेर सतर्क भइसकेको भ्यागुतो मुसुक्क हाँसेर कविको भावभङ्गिमा भ्यागुतीसँग भन्छ–

‘वुभुक्षितः किं नकरोति पापम्
क्षीणाः जनाः निष्करुणा भवन्ति
त्वं याहि भद्रे, प्रियदर्शनाय
न गङ्गदत्तः पुनरेति कूपम्।
अर्थात् भोकाएका जन्तुले पाप नगर्ला भन्न सकिँदैन। भोकाहरू निष्ठुर, त्रूmर पनि हुन सक्छन्। प्रिय मित्रको दर्शन गरूँ–गरूँ लागेको छ भने तिमी एक्लै जाऊ। यो गंगदत्तचाहिँ अब त्यस पोखरीमा फर्केर जाँदैन।’

कथाअनुसार गंगदत्त भ्यागुतो सर्पमित्रलाई भेट्न त्यस पोखरीमा फर्केन पनि। हामी नेपाली गंगदत्त भने पटक–पटक त्यही त्यस्तै निर्वाचनपोखरीमा फर्कंदै र आफ्नो स्वत्व बिसाउँदै आएका छौं। पक्ष यो पनि छ।

विभिन्न माध्यमबाट सांसदका हातमा वर्षमै १२÷१२ अर्ब राष्ट्रिय ढुकुटी खन्याउनु भारी अपव्यय हो। सांसदका हातमा अर्बौं थमाएर बालुवामा पानी खन्याएसरह बनाएको विगतको नकारात्मक अनुभव पनि हामीसँग ताजै छ। गल्ती दोहो¥याएर थप गल्ती नगरौं भन्दाभन्दै पनि सरकारले जनताको कुरा सुनेन। सरकारले यस्तै–यस्तै जनविरोधी क्रियाकलापबाट अपमान गर्दा जनताका हृदयमा आगो बल्न थाल्छ।

आगो दन्किसकेपछि हृदयमा पृथ्वी पनि फुट्छ रे
अत्याचार अति भए’सि जनता सङ्ग्राममा जुट्छ रे
ए ‘माथि फ’ तँ घमण्डले नफुल् है ‘द्यौतै’ भइस् ता पनि
छोड्यौं पूज्न भने सरक्क कसरी ‘नैवेद्य’ खालास् अनि ?

यो शार्दूलविक्रीडित छन्दमा व्यक्त भएको हामी नेपाली जनताको शार्दूल गर्जन पनि हो। द्यौताहरू पूूजाबाट बहिष्कृत भए भने द्यौता रहँदैनन्। सामान्य मानिसको जति अस्तित्व पनि रहँदैन द्यौताको। द्यौताहरू अरूले बनाइदिएर द्यौता बनेका हुन्। ‘माथि’ बनेका हुन्। बनाउनेहरूले नै हात झिकिदिए भने द्यौताहरू द्यौता रहँदैनन्। खुर्मुरिँदै झर्छन् र तल आइपुग्छन्। अन्तिम विजय निर्माताको हुन्छ। सृजेताको हुन्छ। जनताको हुन्छ।

सम्झँदा दुःख लाग्छ, हाम्रा राजनेता अर्थात् सत्तासीन ‘द्यौता’हरू राष्ट्रिय ढुकुटीका आक्रामक भोक्ता मात्र बनिदिए, नेपाली जनताका भाग्यभविष्यको स्वप्नशील सृजेता बन्न सकेनन्। सृजेता बन्न यिनीहरूलाई यिनकै वर्गीयताले दिएन। जोगी नहुन राजनीतिमा आएका वुभुक्षापीडितहरू विलास वैभवको सुविधा पाएपछि भोगी हुनबाट रोकिन सकेनन्। भोगविलासको हतारमा यिनीहरूले आफ्ना काम कर्तव्य र हैसियत सबै बिर्से। पापी लोभले यिनीहरूको विवेकमाथि शासन नै जमायो।

‘किमकारि न कार्पण्यं कस्यालङ्घि न देहली ? अस्य पापोदरस्यार्थे किमकारि न नाटकम् ?’ यिनीहरूले राजनीतिलाई नाफाको व्यवसाय मात्र ठाने। नाटक मात्र ठाने। सेवा र सृजनाको अवसर ठानेनन्। राजनीतिलाई सेवाबाट फुकालेर व्यवसाय बनाए। मुलुकमा कानुन व्यवसायी र जग्गा व्यवसायीकै लहरमा राजनीति–व्यसायलाई पनि स्थापित बनाइयो। यस्तो हुन पुग्नु तमाम विकृति विसंगतिको पाण्डोराबाकस खुल्नुजस्तै भयो। मुलुकमा गणतन्त्रका नाममा पार्टीतन्त्र आयो।

राजनीतिक सिन्डिकेट आए। यसैले राजनीतिक नेता कार्यकर्ताको सोच समझ र व्यवहारमा लोकतन्त्र आएन। लोकतन्त्रका लागि जनताले अर्को लडाइँ लड्नु पर्ला कि जस्तो स्थिति पो आयो।
राजनेताहरूकै अदूरदर्शिता र स्वार्थान्धताका कारण हाम्रै घरबारीमा सीमापारका बाँदरले क्रीडाक्षेत्र बनाए। मकैबारीमा बाँदर पस्यो। हामी असीम अनुकम्पासाथ श्रीमान् हनुमान् प्रकट हुनुभएको ठानेर गुनासो चालीसा पाठ गर्न थाल्यौं। पन्चोपचार, षोडषोपचार पूजा गर्न थाल्यौं। पुष्पान्जलिसाथ आरती प्रार्थना टक्र्याउन थाल्यौं– ‘त्वमेव माता च पिता त्वमेव।’ यति हुँदा पनि हामी लज्जावनत छैनौं। आम जनतासँग क्षमाप्रार्थी छैनौं। हामीलाई अझै हामीले गरेका प्रार्थनामा गौरव छ। हामीले अँगालेको हनुमानपूजावादमा गौरव छ।

लाग्छ, मुलुकमा लोकतन्त्र आयो–आयो भन्दाभन्दै जस्केलोबाट छिरेर लुसुुक्क हात्तीतन्त्र पो आएछ। त्यसैका आडमा हनुमानपूजावादी लम्पसारतन्त्र नै पो आएछ। आफ्ना निर्वाचित राजनेताका अगाडि आफ्ना तमाम सपनाका पोका बिसाएर निर्धक्क हुन हामी नेपाली जनताले फेरि पनि पाएनौं। हैन त ?

प्रतिक्रिया दिनुहोस्