आर्मी पीएम कपको फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
प्रदेश नम्बर ५ माथि १ सय ५४ रनको जित हात पार्दै त्रिभुवन आर्मी क्लब पीएम कप क्रिकेट प्रतियोगिताको उपाधि निकट पुगेको छ।

शुक्रबार त्रिवि मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेशीय टोलीबाट एकतर्फीय जित निकालेको हो। पहिले ब्याटिङ र पछि बलिङमा समेत शक्ति गौचनको टोलीलाई निरीह सावित गर्दै विभागीय टोलीले फाइनलको यात्रा तय ग¥यो। २ सय ९० रनको विशाल लक्ष्य दिएको आर्मीले प्रदेश ५ लाई १ सय ४३ रनमै समेटेको थियो। यो जितसँगै फाइनलमा विभागीय टोलीबीच नै हुने पनि सुनिश्चित भएको छ। आज हुने अर्को सेमिफाइनल खेलमा एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुँदै छ।

पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८९ रन जोडेको थियो। २६.२ ओभरसम्म तीन विकेट गुमाएर ७६ रनमा रहेको आर्मीले पछिको २३.४ ओभरमा २ सय १३ रन बटुल्यो। जसमा ओपनर ब्याटसम्यान सागर पुनले १ सय १८ रनको व्यक्तिगत सतकीय योगदान दिए भने भीम सार्कीले विस्फोटक ब्याटिङ गर्दै ७७ रन जोडे। भीमले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए। ४४ बलमा अर्धसतक पुरा गरेका भीमले बाँकी ९ बलमा २७ रन बनाएका थिए।

यसअघि बिक्रम भुषालले आर्मीको ब्याटिङलाई नियन्त्रणमा राखेका थिए। उनले अनिल मण्डल (१९ रन) र नरेश बुढाएर (०) को विकेट ५२ रनमा लगातार लिएर प्रदेश ५ लाई राम्रो शुरूआत दिलाए। ७६ रनमा राजु रिजाल (५ रन) पनि रनका लागि दौड्दा रनआउट भएका थिए। यतिबेलासम्म आर्मी कमजोर थियो। तर म्यान अफ द म्याच सागर र भीमले चौथो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेर टोलीलाई सुरक्षित स्कोरमा पु¥याए। तीन पटक सन्दीप सुनारको बलिङमा क्याच आउट हुनबाट जोगेका सागरले १ सय ४२ बलमा १० चौका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ३७ रन बनाएर प्रदेशीय टोलीमाथिको दबाब अझ गहिरो बनाइदिए।

प्रदेशीय बलरमा कप्तान शक्तिको कुनै जादु चलेन। उनले एक विकेट लिन ४६ रन खर्चे भने लालबहादुर अधिकारी त झनै खर्चालु सावित भए। उनले १० ओभरमा ८३ रन दिएर १ विकेटका रूपमा सागरलाई पवेलियन फर्काएका थिए। विक्रमले २ विकेट लिन ५३ रन दिँदा कृष्ण कार्की धेरै सफल बलर बनेका थिए। कृष्णले १० ओभरमा ५६ रन दिएर तीन विकेट लिए। तीनै विकेट महत्वपूर्ण थिए। जसमा भीम, विनोद र सोमपाल कामी उनको बलिङमा आउट भएका थिए।

जवाफमा प्रदेश ५ ले ३५.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन जोडेको थियो। शुरूआतदेखि नै दबाबमा खेलेको टोलीले अन्तसम्म पनि जितका लागि खेल्न सकेन। आर्मीका बलरहरुले घातक बलिङ गर्दा धेरै डट बलहरु निस्क्यो र दबाबमा आएर प्रदेशका खेलाडीले एकपछि अर्को गल्ती गर्दै गए र पबेलियन फर्के। सबैजसो ठूलो सट खेल्ने कोसिसमा आउट भएका थिए। टोलीका लागि सबैभन्दा बढी कृष्णले ३१ रन बनाए। उनले २९ बलमा ३ छक्का र २ चौका प्रहार गरेका थिए। उनीपछि शंकर रानाले २३ रनको योगदान दिए भने अन्य ब्याटसम्यानले उल्लेखनीय ब्याटिङ गरेनन्। आर्मीका बलरमा विक्रम सोब र शुशील कँडेलले ३–३ विकेट लिँदा सागरले दुई विकेट हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्